सिनियर डिभिजन एनसीसी तालिमबाट ५४० क्याडेट छात्रछात्राहरू दीक्षित


काठमाण्डु – राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१८ सिनियर डिभिजन तालिमको मंगलबार सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।

कार्यक्रममा क्याडेट छात्रछात्राहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सेवादलका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सिर्जनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको बताउँदै विक्रम संवत् २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवादल नेपाल जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताए ।

उनले राष्ट्रिय सेवादल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढीभन्दा बढी युवा विद्यार्थीहरूलाई तालिममा समेट्न प्रयास भइरहेको बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्त्व रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्र सैनिक आवासीय महाविद्यालय भक्तपुरका शसिलबाबु सिलवाल, सर्वोत्कृष्ट छात्रा सेन्ट जेभियर्स स्कूल ललितपुरकी करिना राना मगर र सर्वोत्कृष्ट प्लाटुन सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सहसंरक्षकद्वय रक्षामन्त्री हरिप्रसाद उप्रेती एवं प्रधानसेनापति प्रभुराम शर्माले दीक्षित क्याडेटहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले राष्ट्रिय सेवा दलका पूर्वी तालिम शिक्षालय, मोरङको याङ्सिला, मध्य पूर्वी तालिम शिक्षालय, महोत्तरीको बर्दिवास, मध्य तालिम शिक्षालय, नवलपरासीको हात्तीखोर र पश्चिम तालिम शिक्षालय, बाँकेको कौशिलानगरबाट यस वर्ष ७ हजार ७०४ जना क्याडेट छात्रछात्राहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेको बताउँदै हालसम्म ७४ हजार ४८० जनाले राष्ट्रिय सेवादलको सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको जानकारी दिए ।

समारोहमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग, मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, सैनिक श्रीमती संघका पदाधिकारीहरू, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी, एनसीसी पूर्व छात्र संघ नेपालका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।

त्यस अवसरमा युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन आएका भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका नेसनल क्याडेट कोरका अधिकृत तथा क्याडेट छात्रछात्राहरूको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय सेवादल नेपालका क्याडेट छात्रछात्राहरूले सांगीतिक एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement