एनसेलको कर मुद्धाबारे सर्वोच्चमा सुनुवाई आज


काठमाडौं – एनसेलको कर लाभकर विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी, डम्बर शाही, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्मा सम्मिलित बृहत् पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो । ।

वि.सं. २०७२ मा एनसेलको मातृकम्पनी स्विडेनको टेलियासोनेराले मलेसियाको अजियटा ग्रुपलाई एनसेल बिक्री गरेपछि नेपालको कानुनअनुसार लाग्ने लाभकर सरकारलाई नतिरेपछि यो विवाद अहिलेसम्म टुंगो लाग्न सकेको छैन । अजियटा ग्रुपलाई १ अर्ब ३० करोड डलरमा बिक्री गरेको थियो ।

यस प्रकरणमा सरकारले ६९ अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर एनसेलले बुझाउनुपर्ने बताए पनि एनसेलले आलटाल गर्दै आएको छ। यद्यपि उसले बिक्रीबापतको लाभकर भन्दै यसअघि नै २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ तिरिसकेको छ। बाँकी ३९ अर्ब कर तिर्नुपर्ने भए पनि उक्त कर बाँकी नभएको दाबी गर्दै एनसेलले सर्वोच्चमा मुद्दा हाल्नेदेखि विदेशी निकायमा उजुरी हाल्नेसम्मको काम गर्दै आएको छ।

गत वैशाख ३ मा ठूला करदाताको कार्यालयले एनसेलले अझै ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरे पनि वैशाख ९ मा एनसेलले उक्त कर धेरै निर्धारण भएको आरोप लगाउँदै कार्यालयविरुद्ध सर्वोच्चमा रिट हालेको थियो।

त्यसको सुनुवाइ गर्दै वैशाख २४ मा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले एनसेललाई तत्काल करचुक्ता नगर्नु पर्ने गरी अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशमा आज पूर्ण इजलासमा सुनुवाइ हुने भनिएबमोजिम आज पुनः सुनुवाइ हुनलागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement