एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ।

कम्पनीका अनुसार शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र एसएमएस सेवा उपलब्ध हुनेछ।

एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा बुधबारदेखि तीन दिनका लागि निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीनदिने अवधि शुक्रबार सकिँदैछ।

विपद्का समयमा सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणलाई सहज बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका रहने भन्दै एनसेलले सेवा अवधि थप गरेको जनाएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले विपद्को कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताए।

१८ वटा टावर पुनःसंचालनमा
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा आपतकालीन खोज, उद्धार र राहतका कार्यमा सहयोग पुर्याउँदै आएको छ। कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ भने अन्य ९ प्रभावित टावरहरूको पुनःसंचालनको लागि कार्यसमेत गरिरहेको छ।

यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड सहयोग गरेको थियो। यसका साथै, एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज तथा अकाउन्टहरूमार्फत आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ ।