काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आईतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणका चुनौतीबारे गम्भीर छलफल गरेको थियो ।
बैठकले बाढीको प्रभाव न्यूनीकरण तथा दिगो समाधानका लागि खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना र अत्यावश्यक सेवा तथा पूर्वाधार पुन:सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।
व्यावसायिक राहत, सुरक्षित आवास योजना, जोखिम मूल्यांकन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणाली र द्रूत प्रतिकार्य टोली गठन लगायतका विषयलाई विशेष प्रस्तावमा समेटिएको छ ।
बैठकले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय जलवायु न्यायको विषयलाई पनि प्राथमिकताका साथ उठाएको छ । विपद्को सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेकोमा जोड दिइएको छ ।
पार्टीले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतसँगै सुरक्षित पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि राज्यका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको जनाएको छ ।




प्रतिक्रिया