सोमवार नेकपाको सचिवालय वैठक बस्दै, सबै मन्त्रीको राजीनामा मागिने


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सोमबार सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ ।

सोमबार बिहान बोलाइएको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइने नेकपा उच्च स्रोतले जनाएको छ ।

सरकारका कामकारवाही सन्तोषजनक नभएको भनेर पार्टीभित्रै गुनासो रहेका बेला सचिवालय बैठकले सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने स्रोतले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र सचिवालयका सबै कर्मचारीलाई पदबाट राजीनामा दिन निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार जस्तै मन्त्रीलाई पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिने निर्णय सचिवालय बैठकबाट गराउन लागेको स्रोतको दाबी छ ।

मन्त्रीको राजीनामापछि प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गर्नेछन् । मन्त्रिमण्डल पुनर्गठनका क्रममा केही पुरानै मन्त्रीले समेत अवसर पाउने सम्भावना रहेको स्रोतले जनाएको छ । अधिकांश मन्त्रीमा भने नयाँ अनुहार आउने गरी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति गरेका जनाइएको छ ।

यसअघि आईतबार दिउँसो अध्यक्षद्वयबीच सोमबार हुने सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल हेरफेरका विषयमा दुवै अध्यक्ष सहमत भएका थिए । मन्त्रिमण्डल हेरफेरको चर्चा धेरै महिना अघिदेखि चलेपछि सोमबार त्यसलाई मूर्तरुप दिने तयारी नेकपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement