प्रदेश ७ मा नेकपाको एकता यसरी टुंगियो, इन्चार्जमा रावल कि भट्ट


काठमाडौं– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला कमिटी एकीकरणको प्रक्रिया तीव्र पारिएको छ।

नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरिएकोमा प्रदेश ७ मा ७ मा तत्कालीन एमाले र माओवादीबीचै पक्षबीच सहमति बनेको हो।

पार्टी एकता सम्बन्धि प्रस्ताव तयार गर्न गठित कार्यदलले केन्द्रमा प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले सोमबार मात्र समय थप गर्दै स्थायी समितिको बैठक १० दिन पर सारेको थियो। केन्द्रमा पार्टी एकता भएपनि प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता हुन सकेको छैन ।

नेकपाका प्रवक्ता नारयाणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक भदौ १९ र २० गते बस्नेछ । यसअघि ८ र ९ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

तर, एकताका लागि गठित चार सदस्यीय कार्यदलले प्रदेश ७ का ९ वटै जिल्लामा सहमति कायम गरी प्रतिवेदन पार्टी हेडक्वार्टरमा बुझाइसकेको छ।

दुवै पक्षबीचको सहमति अनुसार ९ वटा जिल्ला रहेको प्रदेश ७ मा पाँच वटा जिल्लामा तत्कालीन एमाले र बाँकी चारवटा जिल्लामा तत्कालीन माओवादी केन्द्रले नेतृत्वको जिम्मेवारी पाएका छन्।

तत्कालीन एमालेले कैलाली, डोटी, बाजुरा, अछाम र बैतडीमा अध्यक्ष तथा सहइन्चार्ज पाउँदा तत्कालीन माओवादी केन्द्रले सचिव तथा इन्चार्ज पाएको छ। यसैगरी, तत्कालीन माओवादीले दार्चुला, डडेल्धुरा, कञ्चनपुर र बझाङमा अध्यक्ष र सहइन्चार्ज पाउँदा तत्कालीन एमालेले सचिव र इन्चार्ज पाएको छ।

जिम्मेवारी पाएका जिल्लामा अध्यक्ष हुने पक्षको सहइन्चार्ज हुने र सचिव हुने पक्षको इन्चार्ज समेत रहने सहमति भएको छ । त्यस्तै, ७ सदस्यीय कार्यालयमा अध्यक्ष हुने पक्षको चार र सचिव हुने पक्षको ३ रहने सहमति भएको छ।

त्यस्तै, १ सय ८३ सदस्यीय प्रदेश कमिटी सिफारिस गरिएको छ, भने कार्यदलले प्रदेशको अध्यक्षमा तत्कालीन एमाले र सचिव तत्कालीन माओवादीबाट हुने निर्णयको सिफारिस भएको छ।

नेकपा (एमालेका तर्फबाट अध्यक्षमा कर्ण थापा र माओवादी केन्द्रका तर्फबाट सचिवमा लक्ष्मी जोशीको नाम सहमति भएको छ। कार्यदलमा तत्कालीन एमाले नेता भीम रावल, कर्ण थापा र तत्कालीन माओवादी केन्द्रबाट लेखराज भट्ट र लक्ष्मी जोशी छन् । प्रदेशको इन्चार्ज र सहइन्चार्जको बारेमा केन्द्रले निर्णय लिनेछ।

यद्यपी, इन्चार्जका लागि नेताद्वय भीम रावल र लेखराज भट्टको चर्चा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement