नेकपामा आलोपालोको प्रावधान हट्यो, शीर्ष वरियतामा ओली !


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ ।

स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरुबाट प्राप्त सुझावका आधारमा विधान र नियमावलीलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अध्ययनपछि महासचिव विष्णु पौडेलले प्रकाशनका लागि पठाएका छन् ।

यसअघि निर्धारित कमिटीहरुको आकार बढाइएको छ । त्यस्तै, अध्यक्षद्वय ओली र प्रचण्डले बैठकको अध्यक्षता पालैपालो गर्नै भनिएकोमा अब एकसाथ गर्नेछन् । आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाइएपछि अब नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने भएका छन् ।

यसअघि जसले वैठकको अध्यक्षता गर्‍यो उसको वरियता शीर्षस्थानमा रहने भनिएको थियो । तर, अब बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्नेछन् भने पत्राचार तथा सर्कुलरमा दुबै अध्यक्षको हस्ताक्षर हुनेछ ।

अन्तरिम विधान १७ अध्याय ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठको रहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । त्यस्तै, नियमावली २९ धारासहित ५० पृष्ठको छ । विधानको व्याख्यासहित नियमावलीले पार्टी कमिटीहरु सञ्चालनको लागि मार्गदर्शन गर्छ । पार्टी केन्द्रीय कमिटीले पारित गरेको विधानका केही प्रावधान हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement