प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रमा अझै पुगेन भारत जाने टोलीको अन्तिम सूची

प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रमा अझै पुगेन भारत जाने टोलीको अन्तिम सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा निस्किन अब तीन दिन मात्रै बाँकी छ। तर अहिलेसम्म पनि भ्रमण टोलीका सदस्यहरूको नामबारेअन्तिम टुंगो हुन सकेको छैन।

भ्रमणको तयारी फितलो भएको भन्दै आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री कार्यालयबाटै भ्रमण दलको अन्तिम नाम नआएकाले सार्वजनिक गर्न नसकिएको बताएका छन्।

वालेन्द्र आगामी मंसिर ६ गते भारत गएर ७ गते स्वदेश फर्किने कार्यतालिका छ। तर प्रधानमन्त्रीको भ्रमण टोलीमा को–को सहभागी हुने भन्नेबारे अझै अन्योल छ।

यसबारे काठमाण्डुपाटीले परराष्ट्र मन्त्रालयका एकजना वरिष्ठ अधिकारीसँग सोधदा प्रधानमन्त्री कार्यालयबाट अन्तिम नाम नआएको बताएका छन्।

‘शनिबारअघि नै नाम सार्वजनिक गर्ने तयारीमा लागेका छौँ। तर प्रधानमन्त्री कार्यालयबाटै अन्तिम नामहरू आइसकेका छैनन्। पछिल्लो समय २५ जना जाने भन्ने कुरा आएको छ, तर अन्तिम निर्णय भएको छैन,’ परराष्ट्रका ती अधिकारीले भने।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डा अन्तिम रूप दिने काम गरिरहेको छ। मंगलबारबाट मात्रै एजेन्डा टुंग्याउने काम सुरू भएकाले मन्त्रालयका अधिकारीहरू व्यस्त छन्।

‘हाम्रोतर्फबाट एजेन्डागत रूपमा अन्तिम तयारी भइरहेको छ। केही दिनमै सबै कुरा सार्वजनिक गर्ने प्रयास गरिरहेका छौँ,’ परराष्ट्र स्रोतले भन्यो।

भारतीय दूतावास पनि प्रतीक्षामा

नेपालस्थित भारतीय दूतावासले पनि भ्रमणको मितिमा अहिलेसम्म कुनै फेरबदल नभएको जनाएको छ। दूतावासका अधिकारीहरूका अनुसार भ्रमणको औपचारिक तालिका शनिबारअघि सार्वजनिक हुने जानकारी प्राप्त भएको छ।

‘तालिका शनिबारअघि नै सार्वजनिक हुने भन्ने जानकारी हामीलाई पनि छ। त्यहीअनुसार तयारी गरिरहेका छौँ। हामीकहाँ पनि सबै नामहरू आइसकेका छैनन्,’ दूतावास स्रोतले भन्यो।

प्रधानमन्त्रीकी मिडिया व्यवस्थापन संयोजक दीपा दाहालले पनि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बताइन्। उनले पनि चाँडै औपचारिक विवरण सार्वजनिक हुने बताइन्। भ्रमण तालिका फेरबदलबारे आफूहरूलाई जानकारी नभएको उनको भनाइ छ।

भारत भ्रमणको तीन दिनअघि पनि टोलीका सदस्य टुंगिएनन्, २५ जनासम्म जाने चर्चा भनिए पनि नाम र संख्या अझै निश्चित हुन सकेको छैन।

‘तालिकामा परिवर्तन हुने हामीलाई जानकारी छैन। परराष्ट्रले तयारी गरिरहेको बुझेका छौँ। केही दिनमै सबै कुरा आउला,’ उनले काठमाण्डुपाटीसँग भनिन्।

एजेन्डा टुंग्याउन अन्तरमन्त्रालय समन्वय

प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन विभिन्न तहमा तयारी भइरहेको बताइएको छ। प्रधानमन्त्रीले अन्तरमन्त्रालय समन्वयमार्फत परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा भ्रमणका एजेन्डा अन्तिम रूप दिन खोजेको स्रोतको भनाइ छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मंसिर ६ गते भारत जाने र ७ गते स्वदेश फर्कने कार्यतालिका रहेको जानकारी दिए पनि भ्रमणबारे औपचारिक घोषणा भने भइसकेको छैन।

उता विपक्षीहरूले भ्रमणको मिति नजिकिँदै जाँदा तयारी र परामर्शको विषयमा पनि प्रश्न उठाउन थालेका छन्। प्रधानमन्त्री शाहले अहिलेसम्म विज्ञ समूह तथा विपक्षी दलहरूसँग छलफल नगरेको भन्दै नेताहरूले भ्रमणअघि आवश्यक संवाद गर्नुपर्ने माग गरिरहेका छन्।

भ्रमण टोलीको अन्तिम नाम, औपचारिक कार्यतालिका र एजेन्डा सार्वजनिक हुन बाँकी रहँदा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे चासो बढेको छ। तर अहिलेसम्म वालेन्द्रले कुनै किसिमको छलफलबाट सुझाव लिएका छैनन्।

यसअघिका प्रधानमन्त्रीहरूले कुनै पनि देशको औपचारिक भ्रमणमा जानु साता-दुई साताअघि नै एजेन्डाबारे सर्वदलीय र सर्वपक्षीय छलफल गर्ने गर्थे। तर विभिन्न सहमति र सम्झौतासमेत हुने भनिएको आफ्नो भ्रमणबारे वालेन्द्रले कसैसँग परामर्श लिएको जानकारी अहिलेसम्म मिलेको छैन।