माडीलाई ‘मणि’ बनाउन बैठक छाडेर आएँ : अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीलाई विकासको मणि बनाउने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवको उद्घाटनमा बोल्दै अध्यक्ष प्रचण्डले माडी अब मणिको रुपमा विकास भइरहेको बताउँदै अब माडीको आवाज विश्वभर सुनिने दावी गरे । उनले चितवन राष्ट्रिय निकुञ्जबाट स्थानीयले भोग्नुपर्ने दुःख निवारणका लागि २०२९ सालको ऐन संशोधन गर्न लागेको जानकारी दिए ।

‘चितवन राष्ट्रिय निकुञ्जका कारण स्थानीयलाई परेको असर समाधान गर्न, ठोरी–केरुङ राजमार्ग निर्माणको प्रक्रिया अघि बढाएका छौं । एकीकृत विकासका लागि चक्रपथ निर्माणको अवधारणा पनि अघि बढाएका छौं,’ उनले भने, माडीलाई माडी होइन कृषि, पर्यटन, सडक, निकुञ्ज सुरक्षा, तटबन्ध आदिको माध्यमबाट माडीलाई अब मणि बनाउँछौं,’ उनले भने ।

“चितवन राष्ट्रिय निकुञ्ज र माडीवासीको सम्बन्ध कसरी हार्दिक बनाउन सकिन्छ भनेर प्रयत्न गरिरहेको छु । माडीका जनता चितवनवासी हुँदा–हुँदै पनि अर्कै देशको जनताजस्तो पीडा भोग्नुपरेको छ । पीडा समाधान गर्न लगातार संघर्ष गरिरहेको छु,’ उनले भने ।

त्यस्तै उनले नेपालको राजनीतिमा देखा परेको जटिलतालाई चिरेर आफुहरु अगाडी बढ्ने बताए । ‘केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखिन खोज्छन् कहिलेकाहीँ’, उनले भने, ‘तिनलाई समधान गर्नका लागि लगातार छलफल गर्नु थियो । मलाई नेताहरुले, साथीहरुले यस्तोबेला बाहिर नजान भन्नुभएको थियो ।’

केन्द्रीय राजनीतिमा देखिएका जटिलतामाथिको छलफललाई थाँती राखेर आफू माडी आएको र यहाँबाट फर्किएपछि लगातार छलफलमा लाग्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले त्यो जटिलता के हो भन्ने बारेमा भने केही खलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement