बैठक छल्न खोजेपछि ओली र प्रचण्डबीच भनाभन, विष्णु पौडेल रक्षात्मक


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भनाभनको स्थिति सिर्जना भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै अहिले बैठक राख्नुको औचित्य नभएको बताएका छन् ।

ओलीले बैठक छल्ने संकेत पाएपछि अर्का अध्यक्ष प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोपपत्र फिर्ता लिए मात्रै बैठक सुचारु गर्न नदिने बताएका थिए । तर, अध्यक्ष प्रचण्डले एक जनाले भन्दैमा बैठक स्थगित नहुने भन्दै विरोध गरेका थिए । प्रचण्डले ‘ किन बैठक नराख्ने ? राजनीतिक प्रस्तावमा तपाईको बारेमा देखिएका विषय उठान गरिएको छ, त्यो फिर्ता हुँदैन’ भन्दै जवाफ दिएका थिए ।

ओलीले फरक धारबाट पार्टीको विवाद समाधान गर्नुपर्ने बताएपछि महासचिव विष्णु पौडेल बाहेक अन्य सचिवालय सदस्यहरुले त्यसको प्रतिवाद गरेका थिए । उनीहरुले बैठकबाटै समस्याको समाधान निकाल्नुपर्ने अडान लिएको स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्रीजी अझै पनि बैठकबाट भाग्ने कोशिश गर्दैहुनुहुन्छ । उहाँले पार्टीको समस्या अन्य माध्यमबाट पनि हल गर्न सकिने बताउनुभयो । तर, अन्य सदस्यहरुले प्रतिवाद गर्नुभयो । उहाँलाई महासचिवज्यूले साथ दिनुभएको छ’, स्रोतले भन्यो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष प्रचण्ड ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको जनाइएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको छ । अर्को बैठक भोली बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement