ओली प्रचण्डबीच सहमति जुट्यो, नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने


काठमाडौं – दुई अध्यक्षबीच पटकपटक छलफल भए पनि प्रकाशनमा जाने टुंगो नलागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको छ ।

एक वर्षअघि सम्पूर्ण रुपमा सहमति भएर पारित भए पनि प्रकाशन नभएको नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने भएको हो ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी ओलीसँग भएको भेटले उक्त प्रतिवेदन प्रकाशनमा सहमति जुटेको बताए ।

उनले ‘एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ’, उनले भने, ‘त्यो भोलि प्रकाशनमा जाँदै छ ।’

उनले पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको र राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्य्दिशा, संगठनात्मक नीतिमा अन्योल रहेको उनले बताए । ‘आजबाट त्यो अन्योलको अन्त्य गर्ने हामीले निर्णय गरेका छौं’, उनले भने ।

माधव नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन मातहतका संगठनबाट पारित भए पनि प्रकाशन भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement