नेकपाको एकीकरण टुंग्याउन अझै अलमल, कता अल्झियो कार्यदल ?


काठमाडौं – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरण लामो समयमसम्म टुंगिन सकेको छैन । जिल्ला तहको एकीकरणदेखि जनवर्गीय संगठनको एकीकरण अझै बाँकी छ । केन्द्र र प्रदेश स्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कमिटी बनेपनि जिल्लास्तरमा पुरानै नेतृत्व र संरचना छन् । जनवर्गीय संगठनको एकीकरण पनि टुंगिएको छैन ।

एकीकरण प्रक्रिया टुंग्याउन र पार्टी भित्रका विवाद मिलाउन नेकपा स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको थियो । तर कार्यदलले पनि तोकिएको पुस मसान्तसम्म स्पष्ट खाका तयार पार्न सकेको देखिएन । कार्यदलले काम नसकेकाले एकीकरण प्रक्रिया अझै केही समय अलमलिने देखिएको छ । मंसिर २९ गतेदेखि दुई हप्तासम्म चलेको स्थायी कमिटी बैठकबाट जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनसम्म पार्टी एकीकरण सम्बन्धी मापदण्ड निर्धारणका लागि नेता रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलले पुस मसान्तसम्म प्रतिवेदन पेश गर्ने भनिएको थियो । प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुनुपर्ने थियो । तर कार्यदलले प्रतिवेदन नै तयार गरेपछि एकताको अलमल बढेको छ । रामबहादुर थापा नेतृत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठलाई राखिएको छ । कार्यदलका सदस्यलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ भने कार्यदलको प्रगतिबारे सार्वजनिक गरिएको छैन । कार्यदलले कार्यसम्पादन गर्न नसकेपछि म्याद थपिने देखिएको छ ।

‘कार्यदलले समय दिएर काम नै गर्न पाएन । कार्यदलमा रहेका सदस्यहरूको अन्य जिम्मेवारी समेत भएकाले पर्याप्त अभ्यास हुन नसकेका कारण कार्यसम्पादन सम्पन्न भएन,’ नाम उल्लेख नगर्ने शर्तमा कार्यदलका एक सदस्यले भने, ‘कार्यदलमा गृहमन्त्रीदेखि मुख्यमन्त्रीसम्म छन्, उहाँहरू आफ्नो पदीय जिम्मेवारीमा व्यस्त हुनुपर्ने भएकाले संयुक्त बैठक नै राम्ररी हुन पाएको छैन ।’ उपलब्ध सदस्यहरू बसेर एकीकरणको सामान्य खाकामा छलफल भएपनि कुनै ठोस सहमति हुन सकेको छैन ।

कार्यदलमा जिल्ला स्तरको नेतृत्वमा कुन–कुन जिल्लामा एमाले र माओवादीमध्ये कसलाई दिने, जिल्ला कमिटीमा कसरी भागबण्डा मिलाउने, जनवर्गीय संगठन र पोलिटब्यूरोमा समेत भागबण्डाका विषयमा छलफल भएको स्रोतले जनाएको छ । यी विभिन्न विषयमा छलफल भएपनि ठोस सहमति सहितको प्रस्ताव बन्न सकेको छैन । थुप्रै छलफल र बहस भएको स्थायी कमिटी बैठकले कार्यदललाई नै मुख्य जिम्मेवारी तोकेको थियो ।

कार्यदलले समयमै काम गर्न नसक्दा स्थायी कमिटी बैठकको छलफलले मूर्तता पाउन ढिलाइ भइरहेको कार्यदलमा नरहेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए । ‘हाम्रो छलफललाई कार्यदलले नतिजामा लैजाने भन्ने हो, तर कार्यदलले किन ढिलाइ गरिरहेको छ ?’ उनले भने, ‘कार्यदलले चाँडो कार्यसम्पादन गरेर पार्टीलाई गति दिन फेरि स्थायी कमिटीमा छलफल हुनुपर्छ । एकीकरण टुंग्याउन जति ढिला हुन्छ, पार्टी त्यति नै कमजोर र निष्क्रिय हुँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement