अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाकाे निर्णय


काठमाडौं – नेकपा सचिवालय बैठकले स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान करिब दुई घण्टा छलफल भएको थियो। उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो।

सापकोटाको नामलाई अपरान्ह नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो।सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।

सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सम्म सांसद पदमा निर्वाचित भइसकेका छन्। २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री थिए भने २०७२ सालमा केपी ओलीको सरकारका वनमन्त्री थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement