अफगानिस्तानमा विमान चाटर्ड गरेर नेपालले पठायो औषधि र लत्ताकपडा


काठमाण्डु – नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएकाे छ । आइतबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।

मन्त्रालयको कर्मचारीसँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए । जहाज अब करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ। परराष्ट्रमन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्।

आइतबार अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीलाई काबुलस्थित संयुक्त राष्ट्र संघको प्रतिनिधिले स्वागत गर्नेछ । सोही राष्ट्रसंघको गाडीमा राहत सामग्री राखि वितरण गरिने मन्त्री खड्काले बताए ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि तालिबानले सत्ता कब्जा गरेको थियो । तर, उनको सरकारलाई अमेरिका,बेलायतलगायतका मुलुकले भने मान्यता दिएको छैन। चीनसंग भने तालिबानको कूटनीतिक सम्बन्ध स्थापित भइसकेको छ ।

तालिबानले शुक्रवार मात्रै नयां बजेट ल्याएको छ । यद्यपी अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएपछि त्यसले चरम संकट देखिएको छ ।

अफगानिस्तानमा चरम आर्थिक संकट र खाद्यान्न अभाव देखिएको छ । चीन, भारतलगायत केही मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सहायता गरिरहेका छन्। नेपालले पनि तालिबान सत्तामा आएपछि पहिलो सहयोग पठाएकाे हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement