नेपाल एयर लाइन्सको लापरबाहीबारे संसदमा उठ्यो प्रश्न


काठमाण्डु- नेपाल एयर लाइन्सको लापरबाहीबारे संसदमा प्रश्न उठेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल एयर लाइन्सको लापरबाहीबारे सरकारले चासो नदेखाएको भन्दै प्रश्न गरेका हुन् ।

उनले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बतए । हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको पौडेलको भनाइ छ ।

‘पछिल्ला रिपोर्टले प्रष्ट भन्छन्, नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकताका साथ लिन्छन् । तर, हाम्रो मुलुकले गम्भिरतापूर्वक लिदैन ।’, उनले भने ।

पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनले दाबी गरे । पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए ।

‘यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले हवाई क्षेत्रमा देखिएका समस्या सम्बोधनमा सरकार गम्भीर बनोस् । उचित व्यवस्थापनका लागि समाधान खोजियोस् । पौडेलले भने,‘ हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवईबाट काठमाण्डु उड्नै लाग्दा कोपाइलटलाई पखाला चलेपछि १४३ यात्रु अलपत्र परे ।’, उनले भने ।

नेपालको सबैभन्दा ठूलो, पुरानो र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम मुलुकको झण्डावाल जहाजमा यात्रु बोकेर १० अन्तर्राष्ट्रिय गन्तब्यमा पुग्छ । आन्तरिकतर्फ सबैजसो विमानस्थलमा उडान गर्ने जिम्मेवारी उसको हो । जहाजको टायर हराउनेदेखि इन्जिन सुटुक्क विदेश पुग्ने विगतका घटना अझै ताजै छन् । नेपाल एयर लान्सका पछिल्लो समय लापरवाहीका घटना बढ्दै गएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement