अमेरिकाबाट ‘सगरमाथा डायलग’ सुरु गर्ने वनमन्त्रीको घोषणा


काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकाबाट ‘सगरमाथा डायलग’ नामक अन्तर्राष्ट्रिय फोरम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा गत २९ र ३० जुनमा भएको ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकका क्रममा मन्त्री बस्नेतले आगामी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले ‘सगरमाथा डायलग’ नामक अन्तर्राष्ट्रिय फोरम सञ्चालन गर्ने भएको जानकारी दिएका हुन् ।

उनले आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट’ मा उक्त कार्यक्रमको सुरुआत गरिने जानकारी दिए ।

समिटमा वातावरणीय परिवर्तन र असरबारे विश्वसमुदायका प्रतिनिधिहरुसँग अन्तक्र्रिया गरिने उनले बताए ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिन्दकुश हिमालयन मुलुकहरुको सामूहिक प्रयास बढाउने उद्देश्यका साथ नेपालले हरेक वर्ष ‘साइड इभेन्ट’ समिटको आयोजना गर्ने मन्त्री बस्नेतले बताए ।

बन्त्री बस्नेतले नेपालले आगामी सन् २०२० मा जलवायु परिवर्तनको असर घटाउनेसम्बन्धी राष्ट्रिय प्रतिबद्धता (एनडिसी) अद्यावधिक गर्नेसम्बन्धी प्रस्ताव तयार भइरहेको पनि जानकारी दिए ।

बैठकमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य (०.०२७ प्रतिशत) रहेको भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा पर्ने भन्दै वातावरणीय प्रदूषण बढाउन योगदान गर्ने राष्ट्रहरुले नेपालजस्ता मुलुकमा भइरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि बजेट व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

मन्त्री बस्नेतले नेपालले कार्बन उत्सर्जनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै उनले २९ जुनमा प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेको राष्ट्रिय वृक्षारोपण कार्यक्रमअन्तर्गत ५ करोड बिरुवा रोपिने जानकारी दिए ।

उनले वातावरणीय प्रदूषण रोक्न यसअघि भएका महत्वपूर्ण सहमति र सम्झौताहरुको प्रभावकारी कार्यान्वयन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्ष राष्ट्रले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्रीस्तरिय बैठकमा नेपालसहित चीन, जापान, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित ८० मुलुकका वातावरणमन्त्री तथा प्रतिनिधिहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement