काठमाण्डु – आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ शनिबारदेखि सुरु हुँदैछ । प्रतियोष्तिाको पहिलो खेलमा शनिबार नेपालले अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग नेपालले पहिलोपटक खेल्दै छ । यसअघि नेपालले महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेल मात्र खेलेको थियो । नेपालले अमेरिकासहित अन्य टोलीसँग पनि पहिलोपटक टी–२०आईमा खेल्न लागेको हो ।
शनिबारदेखि सुरु भएर मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टिमले एक–अर्कासँग दुईपटक खेल्ने (डबल राउण्ड रोबिन) प्रावधान छ र सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ ।
नेपाल महिला टोली पहिलो पटक रुवान्डामा खेल्न लागेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसोसिएट देशहरूलाई अवसर दिन पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो।
नेपाल वरियतामा सहभागी पाँच टिममध्ये सबैभन्दा माथि २१औं स्थानमा छ। त्यसपछि इटाली २३औं, अमेरिका २४औं, रुवान्डा २५औं र भानुआतु ३०औं स्थानमा छन्।
नेपालले दोस्रो खेल आइतबार ६ वैशाखमा इटालीसँग खेल्नेछ । त्यसपछि तेस्रो खेल बुधबार रुवान्डासँग, चौथो खेल बिहीबार भानुआतुसँग खेल्नेछ ।
यस्तै पाँचौं खेल आगामी शनिबार फेरि अमेरिकासँग खेल्नेछ । छैटौं खेल १४ वैशाखमा रुवान्डासँग, सातौं खेल १५ वैशाखमा भानुआतुसँग अनि आठौं खेल १६ वैशाखमा इटालीसँग खेल्नेछ ।




प्रतिक्रिया