उपराष्ट्रपति र बेलायती राजदूतको भेटमा गोरखा सैनिकको मुद्दा


काठमाडौं—उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेट गरेका छन्।

सोमबार  उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटघाट गरेका हुन्।

उपराष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताए। ‘दुई देशबीचको औपचारिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको छ । विशिष्ट प्रकारको हाम्रो सम्बन्ध अहिले जनस्तरसम्म फैलिएर प्रगाढ बनेको छ,’ उनले भने।

उपराष्ट्रपतिले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको योगदान रहेको बताए। उनले गोरखा सैनिकका उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गरे।

‘आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको ठूलो योगदान छ । गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागत योग्य छ,’ उपराष्ट्रपतिले भने, ‘गोरखा सैनिकका बाँकी उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने हाम्रो विश्वास छ ।’

उपराष्ट्रपतिले भेटमा बेलायत नेपालको ठूलो विकास साझेदार मुलुक भएको बताए। । उनले नेपाल भ्रमण गर्ने बेलायतीहरुको संख्या बढीरहेको भन्दै भ्रमण वर्ष २०२० मा अझै थपिने अपेक्षा गरे। उनले नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दैै बेलायती व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह गरे।

उपराष्ट्रपतिसँगको भेटमा बेलायती राजदूत मोरिसले नेपाल बेलायतको घनिष्ठ मित्र राष्ट्र भएको बताए। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सहयोग गर्न बेलायत सधै तयार रहेको बताए।

राजदूत मोरिसले बेलायतका लागि गोरखा सैनिकले पु¥याएको योगदानप्रति बेलायत सरकार नतमस्तक भएको बताए। ‘बेलायती गोरखाले विश्वमा कायम गरेको प्रसिद्धिप्रीत हामी नतमस्तक छौँ’, उनले भने ।

राजदुत मोरिसले गोरखा सैनिकका लागि बेलायतले विशेष प्याकेज ल्याएको उल्लेख गर्नुहुँदै गोरखा सैनिकका धेरै समस्या समाधान भएको बताए। उनले बाँकी समस्या रहे समाधान हुँदै जाने बताए। यसैगरी सोमबार नै उपराष्ट्रपतिसँग यूरोपियन यूनियनकी राजदूत भेरोनिका कोडीले शिष्टाचार भेट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement