नेपाली सेनासँग कुनै पनि मतभेद छैनः रक्षा मन्त्रालय


काठमाण्डु – रक्षा मन्त्रालयले नेपाली सेनासँग जोडेर आएका गलत समाचारको खण्डन गरेको छ । मन्त्रालयले भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्दै सेनासँग कुनै पनि मतभेद नरहेको स्पष्ट पारेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले आइतबार एक विज्ञप्ति जारी गरी नेपाली सेनाको अनुरोधलाई रक्षा मन्त्रालयले सधै प्राथमिकतामा राखी कार्य फर्स्यौट गर्ने व्यवस्था अङ्गीकार गर्दै आएको समेत जनाएका छन् ।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल तथा परामर्श भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

रक्षा मन्त्री, रक्षा मन्त्रालय र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर विभिन्न सञ्चार माध्यममा सुनियोजित तवरले समाचार प्रकाशित भएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

नेपाली सेना राज्यको अत्यन्त अनुशासित¸ बफादार¸भरपर्दो¸ व्यावसायिक र सुदृढ सुरक्षा संयन्त्र रहेको भन्दै रक्षा मन्त्रालयले सरकारबाट भएका सबै निर्देशन र निर्णयहरूको सेनाले चुस्त र प्रभावकारी कार्यान्वयन गर्दै आएको समेत दावी गरेको छ ।

‘रक्षा मन्त्रालयले नेपाली सेनाबाट स्वीकृतिका लागि माग भई आएका विषयमा प्रचलित कानून बमोजिम मन्त्रालयको अधिकार क्षेत्रभित्रको विषयमा तथा मन्त्रालयबाट निर्णय हुनसक्ने विषयमा समयमै निर्णय गरी पठाउने गरेको र मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने विषयमा तदनुसार मन्त्रिपरिषदमा पेश गरी निर्णय भै आएअनुसार सेनामा कार्यान्वयनका लागि मन्त्रालयबाट लेखी पठाउने गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

चीनबाट नेपाली सेनाले खरिद गरेका स्वास्थ्य सामग्रीहरू हवाई मार्गबाट यथाशीघ्र ढुवानी गरी नेपाल ल्याउन रक्षा मन्त्रालयले संस्कृति¸पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेवायुसेवा निगमसँग प्रभावकारी तवरमा समन्वय गरेको समेत विज्ञप्तिमा भनिएको छ ।

‘कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरुरक्षा मन्त्रालयले नेपाली सेना मार्फत चीन सरकारबाट G to G Basisमा खरिद गरी ल्याउने भन्ने सम्बन्धमा नेपाल सरकार¸ मन्त्रिपरिषद्‍बाट मिति २०७६।१२।१६ मा निर्णय भएअनुसारनेपाली सेनाले यस मन्त्रालयमार्फतस्वास्थ्य तथा जनसंख्या मन्त्रालय¸अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरी Zero Commission Basis मा नेपाल सरकारको खरिद सम्बन्धी प्रचलित कानून बमोजिम पारदर्शी प्रक्रियाअवलम्बन गरी चीन सरकारले तोकेको सरकारी निकायबाट खरिद गरेको हो । स्वास्थ्य सामग्रीहरू हवाई मार्गबाट यथाशीघ्र ढुवानी गरी नेपाल ल्याउन यस मन्त्रालयबाट संस्कृति¸पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल वायुसेवा निगमसँग प्रभावकारी तवरमा समन्वय गरिएको व्यहोरा समेत स्पष्ट पारिन्छ । यसमा नेपाल वायु सेवा निगम मार्फत सामान ढुवानी गर्दा मन्त्रालयले ढिलो गर्न लगाएको भन्ने आरोप पूर्णतः निराधार र कपोलकल्पित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै मन्त्रालयले रक्षा मन्त्रालयको साउन १६ गतेको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा रक्षा मन्त्री र प्रधानसेनापतिबीच आरोप–प्रत्यारोप भएको नभएको स्पष्ट पारेको छ

‘सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाण्डु–तराई–मधेश द्रुतमार्गलाई निर्धारित समयमै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध छ र यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी कमजोरी नरहेको व्यहोरा स्पष्ट पारिन्छ । कतिपय जटिलताहरूका बाबजुदनेपाली सेनाले द्रुतमार्ग निर्माणको क्रममा हालसम्म सम्पादन गरेका कार्यहरू प्रभावकारी रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement