बाढी पहिरो पिडीतको खोज, उद्धार तथा राहत वितरणमा नेपाली सेना परिचालन


काठमाण्डु – बिगत केहि दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले श्रोत साधन तथा जनशक्ति परिचालिन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरेको छ ।

नेपाली सेनाको परिचालित टोलीले अस्थायी अवरुद्ध भएका सडकहरु सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् । यसै क्रममा सेनाले धादिङको बेनीघाट रोडाङ गाउँपालिका–१०, तिङराङ खानीस्थित पृथ्वी राजमार्ग सडकमा खसेको पहिरो हटाई यातायात सुचारु गरेको छ ।

त्यस्तै मंगलबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित मेलम्ची खोलामा आएको बाढीका कारण अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकाका प्रभावित स्थानियवासिहरुको उद्धार गरी सुरक्षित स्थानमा पु¥याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयबासीहरुको उद्धार कार्य जारी राखेको छ ।

त्यसैगरी, मनाङ्ग जिल्ला, चामे गाउँपालिका–५ घट्टे खोलामा आएको बाढीले गर्दा नयाँ बजारमा अड्कीएर अलपत्र परेका स्थानीयवासिन्दाहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य स्थानीयको सहयोगमा सुरक्षित स्थानमा लगिएको छ । साथै, बाढीको कारण चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामग्रीहरु जिल्ला कारागारको नयाँ भवनमा सारिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement