कोरोनाबारे शान्ति सेनामा खटिएका नेपाली सैनिक सतर्क, सुडानले लगायो हवाई आवागमनमा रोक


काठमाडौं – विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली सेनाले शान्ति सेनामा रहेका सैनिकहरुले आवश्यक नियन्त्रणत्मक र निषेधात्मक उपायहरु अवलम्बन गरी उच्च सतर्कता अपनाइरहेको नेपाली सेनाले जनाएको छ ।

मिसनमा तैनाथ शान्ति सैनिकहरुद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको एकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको सेनाले जनाएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कबाट सर्तकता अपनाउन निर्देशन प्राप्त भईरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाट समेत मिशनमा तैनाथ शान्ति सैनिकहरुका लागी निरन्तर रुपमा आवश्यक निर्देशन दिईरहेको सेनाले जनाएको छ ।

हाल विश्वका ११ वटा मुलुकमा जम्म पाँच हजार एक सय एक जना नेपाली शान्ति सैनिकहरु कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन् । संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना अपरेशनल तथा अन्य गतिविधिहरु सिमित गरिएको र नेपाली शान्ति सैनिकहरुद्वारा स्थानीय वासिन्दालाई समेत सचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको नेपाली सेनाले उल्लेख गरेको छ ।

साथै दक्षिण सुडानले एसियाली पाँच मुलुकहरु चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवागमनमा रोक लगाएसँगै उक्त देशमा जाने शान्ति सैनिकहरुको रि–डिप्लोमेण्ट हाललाई स्थगन भएको छ ।

नेपाली सेनाले मिशनमा तैनाथ हुन जाने शान्ति सैनिकहरुलाई तैनाथ पूर्व सचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने तथा स्वास्थ्य परीक्षण गरी कोरोना मुक्त भएको एकिन गरेपछि मात्र मिशनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस मिलाएको र सोही बमोजिमको जानकारी न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय तथा मिस हेडक्वार्टर मार्फत दक्षिण सुडान सरकारलाई गराईसकेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement