तीन सहायकरथी उपरथीमा बढुवा :अनुपजंग थापा वन्न सक्छन् नेपाली सेनाको प्रधानसेनापति


काठमाण्डु – सेनामा भावी नेतृत्वमा पुग्नेगरी एक जना सहायकरथी उपरथी पदमा बढुवा भएका छन् । २८ वेसिकका सैनिक अधिकारी अनुपजंग थापा फागुन ६ मा उपरथी पदमा बढुवा भएका हुन् । थापा उपरथीमा बढुवा भएसंगै भावी प्रधानसेनापतिको लाइनमा बसेका छन् । यद्यपी अहिले नै यो विश्लेषण गर्न हतार हुने सैनिक अधिकारीहरु बताउंछन् ।

उपरथीमा रोलक्रममा यसअघि मधुकर कार्की अगाडी भएपनि उनले नेशनल डिफेन्स कोर्स(एनडिसी)समयमा नगर्दा थापाको बढुवाको बाटो खुला भएको हो । थापासंगै सहायकरथीहरु सुनिल श्रेष्ठ र प्रकाश देउजा समेत उपरथीमा बढुवा भएका छन् । उनिहरुले आइतबार उपरथीको दज्र्यान्ही चिन्ह समेत लगाएका छन् । उपरथीमा बढुवा भएका श्रेष्ठ मध्यपश्चिम पृतनापति, देउजा सम्भाररथी विभाग र थापालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

सहायकरथी कार्की थापाभन्दा जुनियर भएपनि यसअघि दरवारमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको एडिसी भएको बेला प्रमुख सेनानीमा अघि बढुवा भएका कारण उनी वरियतामा अगाडी आएका थिए । त्यसमा तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको जोडबलले समेत काम गरेको थियो । सेनामा कार्कीलाई अघि ल्याइएकोमा त्यो वेला असन्तुष्टि थियो ।

सहायकरथीमा बढुवा भएपछि उनि वासिङटनस्थित नेपाली दूतावासमा सैनिक सहचारीको नियुक्तीमा थिए । कार्की अमेरिकाबाट फर्केपछि समयमा एनडिसी कोर्स गर्न नपाएपछि उनको बढुवामा ब्रेक लागेको हो । सेनामा उपरथी हुन एनडिसी कोर्स गर्नुपर्ने प्रावधान छ । कार्कीले अहिले नाइजेरियामा एनडिसी कोर्स गरिरहेका छन् । नियमले उनले एनडिसी गर्न नपाउने भएपनि प्रधानसेनापति प्रभुराम शर्माको जोडवलमा उनलाई एनडिसीमा पठाइएको हो ।

कार्की अमेरिकामा कार्यरत हुंदा नेपाली राजदूतावास खरिदको विवादमा समेत आएका थिए । त्यतिमात्र हैन एनसेलको विवादमा समेत उनको नाम जोडिएपछि सैनिक मुख्यालयले कार्कीसंग स्पष्टिकरण नै माग्नु परेको थियो ।

तत्कालिन राजदूत अर्जुन कार्कीसंगको मिलेमतामा उनले अनियमितता गरेको उजुरी सैनिक मुख्यालयसम्म पुगेको थियो । यसमा संसदिय समितिले समेत छानविन गरिरहेको छ । तर, प्रधानसेनापति शर्माले भने उनलाई नै एनडिसीमा पठाएर पक्षधरता देखाएका छन् । उपरथीमा थापाभन्दा अघि बढुवा भएका उनकै व्याचका चोकबहादुर ढकाल, विष्णु रावत र गणेश श्रेष्ठहरुमध्ये कोही दुई तारे र एक जना तिन तारे भएर अवकास पाउने अवस्था छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले अहिलेकै अवस्थामा ०८१ भदौमा अवकास पाउनेछन् । त्यसपछि अशोकराज सिग्देल ०८४ सम्म सेनाको प्रधानसेनापति बन्नेछन् । यो विचमा नेतृत्वमा तलमाथि केही नभएको अवस्थामा उपरथीहरु बावुराम श्रेष्ठ, प्रदिपजंग केसी र दिपक वानियां सेनाको तिन तारे हुने लाइनमा छन् ।

सिग्देलपछि अहिलेको अवस्थामा थापा प्रधानसेनापतिको सम्भावित उम्मेदवार बनेका छन् । सेनामा स्याण्र्डसबाट दिक्षित थापाले अधिकांश तालिम अमेरिकाबाट गरेका छन् । त्यतिमात्र हैन उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पि-४ को रुपमा काम समेत गरिसकेका छन् । थापा प्रधानसेनापतिको उप सैनिक सहायक, २८ बाहिनीको बाहिनीपति र खरिपाटीको तालिम केन्द्र र नेपाल ताराबाट विभुषित सैनिक अधिकारी हुन् ।

रेन्जर पृष्ठभुमिका थापाको अमेरिकी उच्च सैनिक नेतृत्वसंग समेत सुमधुर सम्बन्ध रहेको बताइन्छ । उनका बुवा सहायकरथी तेजेन्द्रजंग थापाले समेत नेपाली सेनाको हवाई निर्देशनालयको निर्देशकबाट अवकास पाएका थिए । थापा सेनाभित्र व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement