सेनामा पूर्णचन्द्रको पालामा कसैलाई काखा कसैलाई पाखा पारिएको खुलासा


काठमाण्डु– नेपाली सेनाका उपरथी अनन्त कार्कीको पदावधी थपको लागी सिफारीस भएको छ । सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले समयाअवधी अघि नै कार्कीको पदावधी थपको लागी पत्र रक्षा मन्त्रालयमा पठाएको खुलेको छ । उनको नयां सेनापति आएसंगै सेनाको प्रस्तावित राष्ट्रिय सुरक्षा विश्वविद्यालय सांगा सरुवा गरिएको छ ।

तत्कालिन प्रधानसेनापति थापाले आफुले अवकास पाउनु केही दिन अघि कार्कीको पदावधी थपको लागी सिफारीस रक्षा मन्त्रालय पठाएका हुन । कार्कीको उपरथीको पदावधी थप नहुने संकेत पाएपछी थापाले आफु निकट उपरथीको पदावधी थपको लागी पहिले नै सिफारीस गरेर पत्र पठाएका हुन । उनको कार्तीकमा पदावधी सकिदैंछ ।

सेनामा कार्की विवादित जर्नेल हुन । उनी नीतिमा हुंदा आर्थिक विवादमा समेत आएका थिए । उनको पदावधी थप गर्न प्रधानसेनापति प्रभुराम शर्मा सकरात्मक नभएको सैनिक स्रोतको दावी छ । तर, सिफारीस भइसकेको पत्र के गर्ने भन्नेबारेमा उनी परामर्शमा छन् ।

कार्कीको पदावधी थप भए उनि तिन तारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने उनी सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए ।

सेनाका हालका रथी बालकृष्ण कार्कीले २०७९ असोजमा अवकास पाएपछि कार्कीको तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना हुन्छ । तर, उनको पदावधी थप नभएको अवस्थामा उपरथी सिताराम खड्का तिन तारे जर्नेल बन्ने लाइनमा छन् ।

अवकासप्राप्त प्रधानसेनापति थापाले निकट जर्नेलको पदावधी थपको फाइल घर जांदै लाग्दा रक्षामा पठाएपनि सहायकरथी बावुराम श्रेष्ठको भने पदावधी थप नगर्ने निर्णय गरेको समेत खुलासा भएको छ । उनको नाम अहिले उपरथीमा बढुवा सिफारीस भइसकेको छ । श्रेष्ठ तत्कालिन प्रधानसेनापति थापाको कोपविभाजनमा परेका जर्नेल हुन ।

त्यस्तै २८ बेसिकका सहायकरथी पदमबहादुर सिंह र सागरबहादुर केसीलाई मानार्थ उपरथीमा बढुवा गर्ने निर्णय गरेका थापाले अरु एक वर्षसम्म भने मानार्थ दिन नमिल्ने निर्णय रक्षामन्त्रालयमार्फत गरेको भेटिएको छ । जवकी सिंह र केसीभन्दा सिनियर रहेका २५ बेसिकका जर्नेल ईश्वरकान्त मैनालीको हकमा भने उनले कुनै निर्णय गरेनन । उल्टै मैनालीलाई बढुवा गर्न नमिल्ने गरी थापाले नियम नै परिवर्तन गरेका हुन ।

मंगलवार सैनिक मुख्यालयमा बसेको सेनाको बोर्ड बैठकमा प्रधानसेनापति शर्माले आगामी कात्तिकमा अवकासमा जान लागेका सहायकरथी मैनालीलाई विशेष बढुवा दिन खोज्दा थापाले यो वर्षभरी नै नमिल्ने गरी निर्णय गरिसकेको खुलासा भएको हो ।

प्रधानसेनापति थापाले त्यतिमात्र होईन गणपतिको सरुवा,बढुवा र शान्ति सेनाको मिसनमा एक वर्षपछि जाने अधिकृतहरुको हकमा समेत निर्णय गरेको पाइएको छ । हालका प्रधानसेनापति शर्माको एक वर्षसम्म हात खुट्टा बाध्ने गरी सवै निर्णय भएको भेटिएपछि सैनिक मुख्यालयमा सन्नाटा छाएको हो ।

त्यसैगरी थापाको पालामा प्रधानसेनापति कोषको १२ करोड रकम समेत शुन्यमा झारेको पाइएको छ । प्रधानसेनापति परिवर्तन भएसंगै सेनाको पेट्रोल पम्पबाट सेनापतिलाई मासिक ३ लाख र सस्तो पसलबाट समेत १ लाख बुझाउने गरेको समेत पाइएको हो । नयां प्रधानसेनापति शर्माले केही दिनअघि त्यो विषयलाई सार्वजनिक रुपमा भनेको र आफुलाई अफर गर्ने काम भएको खुलासा समेत गरेको स्रोतको दावी छ । यसअघिका प्रधानसेनापतिलाई नियमित खर्च त्यहांबाट आउने गरेको सैनिक मुख्यालयमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement