सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु :प्रभुराम शर्मा बन्दै सेनाको ४४ औं प्रधानसेनापति


काठमाण्डु– नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी भदौ २४ मा अनिवार्य अवकासमा जांदैछन् । आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

उनले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै अवको दुई महिना नेतृत्व हस्तान्तरणलाई कसरी प्रभावकारी बनाउनेमा केन्द्रित हुने बताए ।

सेनामा सामान्यतया प्रधानसेनापति अवकाशको एक महिना अघि बिदा बस्ने प्रचलन छ । त्यसअनुसार उनि साउन २४ मा विदामा बस्नुपर्ने हुन्छ । तर,थापाले त्यसअघि नै शर्मालाई प्रधानसेनापतिमा सिफारीस गर्ने सम्भावना बढेको छ । सैनिक ऐनमा प्रधानसेनापतिले वरिष्ठतम रथीबाट सेनापतिका लागी सिफारीस गर्नुपर्ने प्रावधान छ ।

थापाले आफुपछिको प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई बनाउने स्पष्ट संकेत गरेका छन् । रथी शर्मा थापापछि वरियतामा एक नम्बरमा रहेका सैनिक अधिकारी हुन ।

। सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।शर्माले अहिले दोहोरो जिम्मेवारी सम्हालि रहेका छन् । उनले भारत र अमेरिकाबाट अधिकांश कोर्स गरेका छन् ।

प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २० बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए । उनि सेनाभित्र भद्र र व्यवसायिक सैनिक अधिकारीका रुपमा चिनिन्छन् ।

प्रधानसेनापतिले आफु बिदामा बस्नुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गर्ने तयारी गरेका छन् । तर,त्यो प्रक्रिया भने कहिले सुरु हुन्छ थापाले केही खुलाएका छैनन् । प्रधानसेनापति थापा आफ्नो कार्यकाल लम्बाउन दौडमा लागेको चर्चा चलेपनि उनले सार्वजनिक रुपमा नै नेतृत्व हस्तान्तरण समयमै गर्ने घोषणा गर्नुले त्यो आरोपलाई गलत सावित गरेका छन् । थापाले आफ्नो कार्यकाल सकिनुअघि नै शर्माको नाम सेनापतिमा सिफारीस गरेमा यो विषय सेनामा नौलो र पहिलो हुनेछ ।

उनले आफु कार्यकाल थप गर्ने खेलमा नलागेको प्रष्ट पार्न समेत आइतबार १ हजार दिन पुगेको उपलक्ष्यमा सैनिक मुख्यालमा संचारकर्मीहरुसंग छलफल कार्यक्रमको आयोजना गरेका थिए । प्रधानसेनापति थापाले सेना राजनीतिक मुद्दाभन्दा टाढा रहने दावी समेत गरेका छन् ।

थापाले भनेका छन ‘सेना लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छ । राजनीतिक परिस्थितिका कारण सुरक्षा चुनौती थपिनेछ । यसका लागि सबै सुरक्षा निकाय सचेत छन् । सेना संविधानकै अधीनमा रहेर अघि बढ्नेछ । ’

प्रधानसेनापतिले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सम्पन्न गर्ने सोच रहेको बताएका छन् । उनले आइतवार विप्लव समूह मूल राजनीतिमा आएको प्रशंगदेखी आफ्नो कार्यकालमा भएका उपलव्धीहरुको बारेमा चर्चा गरेका थिए । थापाले आफूले कमाण्ड मार्गनिर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक सांगठनिक वातावरण निर्माण हुंदै गएको दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement