यी हुन् नेपाली सेनामा चम्किएका १२ महिला अधिकृत !


काठमाडौं – लैंगिक समानता र महिला सशक्तीकरणको नीति अवलम्बन गरेपछि नेपाली सेनामा महिला सहभागिता बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार नेपाली सेनाका विभिन्न सेवा र दर्जामा ४ हजार ५ सय ९४ महिला कार्यरत छन् । सेनाले भर्नादेखि बढुवासम्म महिलालाई प्राथमिकता दिँदै आएको छ ।

नेपाली सेनाको इतिहासमा १२ महिला अधिकृत यस्ता छन्, जसले सेनाको इतिहासमा नाम लेखाएका छन् । सहायकरथी डा. राधा शाह सेनाको पहिलो महिला सहायकरथी हुन् । हाल उनले अवकाश पाइसकेकी छन् । सेनामा विद्यावारीधि (पीएचडी) गर्ने पहिलो महिला हुन् डा. नर्वदा थापा । उनले सहायकरथी भएर अवकाश पाइन् ।

नेपाली सेनाको शान्ति सेनाको मिसनमा सहभागिता जनाउने पहिलो सैनिक अधिकृत सरिता केसी हुन् । नेपाली सेनाको महासेनानी रहेकी केसीले युनिफिल मिसनमा सहभागिता जनाएकी थिइन् । मेजर गीता गुरुङ शान्ति सेनाको मिसनमा कमान्डिङ अफिसर भएर खट्ने पहिलो महिला अधिकृत हुन् । उनले अण्डोफ मिसनमा कमान्डर भएर काम गरेकी थिइन् ।

मेजर कृतिराज भण्डारी नेपाली सेनाबाट शान्ति सेनाको सुपरीवेक्षकका रुपमा काम गर्ने महिला अधिकृतका रुपमा चिनिन्छन् । सेनाको कानून विभागमा पहिलो पटक अधिकृतका रुपमा प्रवेश गर्ने महिला एभिता राणा रहेकी छन् । उनी हाल सेनाको महासेनानीका रुपमा कार्यरत छन् ।

सेनाको इन्जिनियरिङ विभागमा अधिकृतका रुपमा प्रवेश गर्ने पहिलो महिला अधिकृत हुन् विभुषा मिश्र । उनी हाल मेजरका रुपमा कार्यरत छन् । सेनाको सूचना प्रविधि विभागमा अधिकृतको रुपमा सेवा प्रवेश गर्ने महिला अधिकृत हुन् शोभना रायामाझी । उनी हाल मेजरमा पदोन्नति भइसकेकी छन् ।

नेपाली सेनाको इन्जिनियरको रुपमा सेवा प्रवेश गर्ने अर्की अधिकृत हुन् रन्जना कँडेल । उनी हाल मेजरका रुपमा सेनामा कार्यरत छन् । नेपाली सेनाको पाइलटका रुपमा सेवा प्रवेश गर्ने दुई महिला अधिकृत हुन् निरु ढुंगाना र अनिता आलेमगर । बाजुरामा विमान दुर्घटना भएपछि मगर गम्भीर घाइते भएकी थिइन् । उनले सेनाको जागिरबाट राजीनामा दिइसकेकी छन् भने ढुंगाना मेजरका रुपमा अहिले पनि सैनिक विमान उडाइरहेकी छन् ।

 

सेनाका इन्फेन्ट्रीमा पहिलो गुल्मपतिको नाम लेखाउन सफल महिला अधिकृत भने सृष्टि खड्का हुन् । उनी हाल सेनामा मेजरका रुपमा कार्यरत छन् । उनी गुल्मपतिको कमाण्ड सम्हालेर हाल शान्ति सेनामा कार्यरत छिन् । सेनामा स्टाफ कलेज गर्ने पहिलो महिला हुन् सुलोचना पौडेल । इन्फिन्ट्रीबाट स्टाफ कलेज गरेपछि उनको प्रधासेनापतिसम्म बन्ने बाटो खुला भएको छ । सेनामा प्रधानसेनापति बन्न स्टाफ कलेज गरेको हुनुपर्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement