नेपाल अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न


काठमाडौं – नेपाल र अष्ट्रेलियाबीच सन् २०१७ को जुलाईमा स्थापना भएको नेपाल अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।  बैठकको उदघाटन गर्दै सचिव शंकर दास बैरागीले नेपाल र अष्ट्रेलियाबीच रहीआएको सौहार्दपूर्ण आपसी सम्बन्धलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । परामर्श संयन्त्रको बैठकको उदघाटन परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले गरेका थिए । उनले सरकारको वर्तमान परराष्ट्र नीति तथा विकासका प्राथमिकताका विषयमा प्रकाश पारे ।

अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभाग का सहायक सचिव एवं अष्ट्रेलियन टोलीका प्रमुख एन्ड्रियु कोलिन्सले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि अत्यन्त राम्रो सम्बन्ध रहीआएको सन्दर्भ उल्लेख गर्दै अष्ट्रेलियाले नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको जानकारी दिए । ‘नेपाल र अष्ट्रेलियाले एक अर्कालाई विभिन्न अन्तराष्ट्रिय फोरममा सहयोग गरिरहेको छ,’ उनले भने ।

सोही अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पाले उच्च शिक्षा अध्ययनका लागि आर्कषक गन्तव्यका रूपमा रहेको अष्ट्रेलियामा नेपाली विधार्थीहरूले भोग्नुपरेका समस्या एवं चुनौती समाधानका लागि परामर्श सुचना केन्द्र स्थापना गर्न आग्रह गरिन् । उनले अष्ट्रेलिया जाने नेपालीको संख्या दिनानुदिन बढिरहेकोले भीसा प्रक्रियालाई सहज बनाउन र दुतावासले नै भीसा दिने व्यवस्था मिलाउन अष्ट्रेलियन टोली सँग अनुरोध गरिन् ।

नेपालका लागि अष्टेलियाका राजदूत महामहिम पिटर बडले अष्टे«लिया जाने विद्यार्थीहरुलाई सहयोग गर्न आफुहरु सधै तयार रहेको बताए । नेपाली विद्यार्थीहरुको विषयमा अष्ट्रेलिया सरकारको सम्बन्धित निकायसँग सहकार्य गरेर कार्ययोजना ल्याउने उनको भनाई छ ।

दुई देशका प्रतिनिधीमण्डलबीच नेपाल अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन द्विपक्षीय महत्वका विषयहरूमा विस्तृत रूपमा छलफल भएका छ । विशेषगरी उच्चस्तरीय भ्रमण आदानप्रदानमा वृद्वि गर्ने एवं व्यापार, लगानी, पर्यटन, मानवसंशाधन विकास, उर्जा, संचार र शिक्षा जस्ता क्षेत्रमा एकअर्काबीच सहयोग एवं सहकार्य अभिवृद्वि गर्ने विषयमा छलफल भएको थियाे ।

नेपालको आर्थिक र सामाजिक विकासमा पु¥याउँदै आएको सहयोगको उच्च मूल्यांकन गर्दै अष्ट्रेलियाले विकास सहायता अन्तर्गत प्रदान गर्ने रकम भौतिक पूर्वाधार र दिगो विकासका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा अष्ट्रेलिया सरकारसंग सहकार्य गरी नेपालमा व्यवसायिक शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था मिलाउने बारे विचार आदानप्रदान भएको थियाे ।

सन् २०२० मा नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्ने भएकाले ६० औं बर्षगाठका अवसरमा दुवै देशले विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै अष्ट्रेलियाको तर्फबाट अहिलेसम्म नेपालमा उच्च स्तरीय भ्रमण हुन नसकेकोले सन्दर्भमा द्विपक्षीय सम्बध बिस्तार र मजबुत बनाउन अष्ट्रेलिया सरकारका तर्फबाट उच्च स्तरीय भ्रमण गराउन पहल भएको थियाे ।

उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिवर अष्ट्रेलिया हेर्ने महाशाखाका प्रमुख श्री तापस अधिकारीले गर्नुभएको थियो । दुवै देशका परराष्ट्र मन्त्रालयका पदाधिकारी, काठमाडौं तथा नयाँ दिल्लीस्थित अष्ट्रेलियन दूतावासका प्रतिनिधिहरू एवं नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूको पनि उक्त बैठकमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement