कुनै पनि बहानामा चुनाव पर नधकेल्न नेपाल बारको चेतावनी


काठमाण्डु- नेपाल बार एसोसिएसनले समयमै निर्वाचन नगरी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित भएको बताएको छ । आयोगका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएका हुन् । उनले कुनै पनि बहानामा चुनाव पर नधकेल्न समेत चेतावनी दिएका छन् ।

‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ नेपालको संविधान र प्रचलित निर्वाचन सम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरि लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिल समेत गर्दछौं ।’

त्यसैगरी पौडेलले विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, बालिग मताधिकार, प्रेश स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बद्र्धन र प्रवद्र्धनको पक्षमा एसोसिएसन रहेको पनि जनाएका छन् ।

सत्ता गठबन्धनले आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । निर्वाचन आयोगसँगको छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement