नेपाल –भारत प्रबुद्ध समूहको बैठक भोलिदेखि सुरु


काठमाडौं – नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयां दिल्लीमा बस्दैछ ।

बैठकका लागि नेपाली टोली त्यसतर्फ गएको छ । बिहीबार र शुक्रबार हुने समुहको बैठक सम्भवत : कार्यकालको अन्तिम बैठक हुनेछ ।

यसअघि गएको फागुन १३ र १४ गते काठमाडौंमा बसेको बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नु पर्ने काम सम्बन्धीको मस्यौदा आदान–प्रदान गरेका थिए । भोलिदेखि सुरु हुने बैठकमा दुवै पक्षले एक अर्काको प्रतिवेदनमा सुझाव दिने छन् ।
बैठकमा नेपाल पक्षले दिएको मस्यौदामा भारतीय पक्षले प्रतिक्रिया दिने र दुई पक्षीय सम्बन्ध सुधारका बाध्यता पनि भारतीय पक्षले जानकारी गराउने बुझिएको छ ।

नेपाल पक्षले सन् १९५० को नेपाल–भारत शान्ती तथा मैत्री सन्धिमा व्यापक फेरबदल लगायत केही महत्वपूर्ण सिफारिस गरेको र त्यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको स्रोतले बतायो । चार चार सदस्यीय समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

नयाँ दिल्लीमा हुने बैठकपछि अन्तिम प्रतिवेदन लेखनमा दुवै पक्ष जुट्ने जानकारी पनि नेपाल पक्षले दिएको छ । आउँदो भदौसम्म अन्तिम प्रतिवेदन बुझाउने तयारी रहेको र त्यस अनुसार नै काम हुने स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement