नेपाल-भारत रेल तिहारसम्म संचालनमा आउने


काठमाडौं – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ।  कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ।

हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले बताए। कम्पनीमा हाल न्यून जनशक्ति छन्। ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन यो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ।

३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो। विभागका प्रवक्ता अमन चित्रकारले दुई महीनाभित्र रेल नेपाल आइपुग्ने बताए। भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल खरीद गर्न लागिएको हो। डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ।

दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यसले एक हजार २०० यात्रु बोक्न सक्नेछ। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनको भनाइ थियो । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

गत महीनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो । क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ । प्रवक्ता अमन चित्रकारले भने, “हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ ।”

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो । भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement