नेपाल–भारत कूटनीतिमा खटपट : ‘रअ’ चलखेलले खेलाउँछ सम्बन्ध ?


काठमाडौं । नेपालको निकट छिमेकी देश भारत हो । पूर्व–दक्षिण–पश्चिमतिर खुला सीमाना भएका कारण पनि भारतसँग खास सम्बन्ध छ । तर पछिल्लो समय सम्बन्धमा संकट देखिएका छन् । भारतसँग देखिएका संकट कूटनीतिक र राजनीतिक क्षेत्रमा छन् ।

भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि सम्बन्धमा संकट देखिएको नेपाली पक्षले महसूस गरेको छ । केही दिनअघि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिले काठमाडौं भ्रमण गरेपछि नेपाल–भारत सम्बन्धबारे चर्चा भइरहेको छ । भारतीय गुप्तचरको सक्रियता बढिरहेका बेला भारतसँग नेपालको औपचारिक र कूटनीतिक सम्बन्ध कस्तो छ त ? नेपाली कूटनीतिक सम्बन्ध हेर्ने गरेर भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा निलाम्बर आचार्य राजदूत छन् ।

२०७५ माघ २० गते राजदूत नियुक्त भएका आचार्य दिल्लीमै रहेका बेला भारतमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नफेरिएपनि विदेशमन्त्री परिवर्तन भएका छन् । मोदी नेतृत्वको सरकारमा विदेशमन्त्री छन् एस जयशंकर । नेपाल मामिलाका जानकार तथा नेपालमाथि लागेको अघोषित नाकाबन्दीका योजनाकार मानिएका जयशंकरले जेठ १६ गते पद तथा गोपनीयताको शपथ लिए । उनको शपथपछि नेपालमा अनेक शंका–उपशंका गरिए, उनले नयाँदिल्लीमा नेपाली राजदूत आचार्यसँग लामो समयसम्म भेट समेत गरेनन् । जब ‘रअ’ प्रमुख सामन्त गोयलको टोली काठमाडौं आएर फर्कियो, तब राजदूत आचार्यले विदेशमन्त्री जयशंकरलाई भेट्न पाए ।

सीमा क्षेत्रमा विषादी परीक्षण प्रकरणदेखि अन्य विविध विषयमा राजनीतिक र उच्चस्तरीय वार्ता हुनुपर्ने भएपनि राजनीतिक र कूटनीतिक कुनै छलफल भएन । बरु नेपाली दूतावास सक्रिय भयो, दूतावासका कर्मचारीले नै नेपाल सरकारलाई पत्राचार गरेर विषादी परीक्षणको निर्णय फिर्ता गर्न लगाए । तर भारतमा नेपाली राजदूतले विदेशमन्त्री जयशंकरसँग सामान्य भेटघाट समेत गर्न पाएनन् । ‘रअ’ प्रमुख सामन्त काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेतृत्वलाई भेटेपछि मात्रै राजदूतले मन्त्रीलाई भेट्न पाएका छन् ।

नेपाल–भारत सम्बन्ध ‘रअ’को खेलमा खेलाइने अवस्थामा किन छ ? नेपाल–भारत सरकारबीच सोझै राजनीतिक सम्बन्ध छैन ? विदेशमन्त्री जयशंकरले विदेश मन्त्रालय सम्हालेको दुई महिनापछि राजदूत आचार्यले शुक्रवार भेट्न पाएका छन् । दुवैबीच द्विपक्षीय छलफल भएको बताइएपनि छलफलको विषय सार्वजनिक गरिएको छैन । ‘रअ’ प्रमुखको टोली नेपाल आउनु र त्यसपछि मात्रै राजदूतले भेट्न पाउनुलाई चाहिँ संवेदनशील रुपमा हेरिएको छ । दुवै देशका राजनीतिक तहमा अझै भेटवार्ता भइसकेको छैन ।

छिमेकमा सरकार फेरिएपछि सम्बन्ध अद्यावधिक गर्न यथाशीघ्र राजनीतिक भ्रमण वा भेटवार्ता हुनुपर्ने हो । तर भारतले राजनीतिक सम्बन्ध अद्यावधिक गर्न खासै चासो नदिएको परराष्ट्र स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेपालले अमेरिकासँग सोझै र चीनसँग सम्बन्ध विस्तार गरिरहेको भारतलाई मन परेको छैन । नेपालले अमेरिकासँगको सम्बन्ध आफूमार्फत राखोस् भन्ने भारतीय चाहना रहन्छ, जुन कुरा नेपाललाई स्वीकार्य छैन । पछिल्लो समय अमेरिकासँग नेपालले सम्बन्ध विस्तार गरेको छ भने अमेरिका समेत नेपाल निकट भएको छ । चीनसँग पनि नेपालले विभिन्न विकास परियोजना, छलफल र भेटघाटमा तीब्रता दिएको भारतलाई मन परेको छैन । नेपालले चीनबाट रेल यातायात, सैन्य सहायता लगायतमा सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement