नेपाल-भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्छ :मन्त्री ज्ञवाली


काठमाडौं –परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौं सम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित कार्यक्रममा उनले समृद्ध भारत नेपालका लागि पनि अवसर हुने बताए ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५–६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए ।

नेपाल-भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए । मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement