नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय


काठमाण्डु – सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)बीच सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने सहमति भएको छ ।

भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो । एसएसबीको आयोजनामा दुई देशका सुरक्षा बलका प्रमुख अधिकारीबीच पाँचौ नेपाल–भारत कोअर्डिनेसन बैठक दिल्लीमा भएको हो ।

आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने, आम नागरिकलाई सहुलियत प्रदान गर्न बढी मानिसको ओहोरदोहर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने, अवैध तरिकाले गरिने मानव ओसार पोसारलाई कडाइका साथ नियन्त्रण गर्ने, भारतमा कार्यरत गैर सरकारी संस्थाहरूसँग पनि समन्वय गर्ने लगायतका विषय सम्झौतामा समेटिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए । बैठकको समापनमा दुवै उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement