नेपाल र भारतलाई समान महत्व दिँदै चिनियाँ राष्ट्रपति, नेपाल भ्रमणको मिति तय


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण आगामी अक्टोबर दोस्रो साता हुने भएको छ । उनी अक्टोबर १२ मा काठमाडौं ओर्लने छन् भने दोस्रो दिन बेइजिङ उड्ने छन् । यसअघि सीको नेपाल भ्रमण ८ घन्टाको हुने खबर सार्वजनिक भएकोमा उनले यस पटकको भ्रमणमा नेपाल र भारतलाई समान महत्व दिन लागेका हुन् ।

नेपाल आउनुअघि चिनियाँ राष्ट्रपति सी अक्टोबर ११ बिहान भारतको चेन्नई उत्रिनेछन् र अक्टोबर १२ मा काठमाडौंका लागि उडेछन् । र, १३ मा बेइजिङ उड्नेछन् । स्रोतका अनुसार चीनले नेपाल र भारत दुबै देशलाई प्राथमिकताका साथ महत्व दिएको देखाउन भए पनि सीको भ्रमण १–१ दिनको हुन लागेको हो ।

सीको नेपाल भ्रमणमा प्रस्तुत हुने परियोजनाको सूची तयार गर्न सम्वद्ध अधिकारी लागिपरेका छन् । नेपालमा रेल र पुर्वाधारका परियोजना अगाडि बढाउने तयारीमा सरकार छ । नेपाल भ्रमणको तयारी पनि तीव्र गतिमा भइरहेको छ ।

सीको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू यसअघि नै बेइजिङ फर्किेसकेका छन् । राष्ट्रपतिको भ्रमणअघि चिनियाँ टोली त्यसको अध्ययन गर्ने सिलसिलामा अन्य मुलुकमा पनि जाने प्रचलन छ ।

सीको सुरक्षाका लागि नेपाली सेनासंगै अन्य सुरक्षा निकायका गुप्तचर खटिसकेका छन् भने चिनियाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा पुगिसकेको छ । सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । चिनियाँ नेता देङ सियाओ पेङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा नेपालको दुईदिने भ्रमण गरेकोमा २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पांच घण्टाका लागि नेपाल आएका थिए । तर, त्यस यता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको थिएन । त्यहांका राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आएनन् भने राष्ट्रपति सीले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement