चेङ्दु- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाल–चीन सम्बन्धलाई विकास र साझा समृद्धिको आधारमा थप विस्तार गर्न प्रस्ताव गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव राखिएको हो।
भेटमा रास्वपा प्रतिनिधिमण्डलले एक चीन सिद्धान्त नेपालको दशकौँदेखिको महत्त्वपूर्ण र स्थिर अडान भएको स्पष्ट पार्दै पार्टी र सरकारले यसलाई निरन्तरता दिने बताएको छ। चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नहुने धारणा पनि प्रतिनिधिमण्डलले राखेको छ।
प्रतिनिधिमण्डलले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताप्रतिको सम्मानमा आधारित रहेको उल्लेख गरेको छ। यी मान्यता र सिद्धान्तलाई सदैव उच्च सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
भेटमा नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिमा केन्द्रित व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलले विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति, पर्यटन र डिजिटल नवप्रवर्तनलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा अघि सारेको छ। सीमापार यातायात पूर्वाधार, पर्वतीय अध्ययन, विपद् उत्थानशीलता, हवाई सम्पर्क र व्यापार विस्तारमा सहकार्य गर्न प्रस्ताव गरिएको छ। चिनियाँ पक्षले रास्वपा प्रतिनिधिमण्डलका प्रस्तावलाई सकारात्मक रूपमा लिएको जनाइएको छ।
बीआरआई सहकार्य अघि बढिरहेको वाङको भनाइ
भेटमा सिचुवान प्रान्तीय सचिव वाङले नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको सहकार्य क्रमशः अघि बढिरहेको बताएका थिए। नेपालसँग निकट सम्पर्क भएका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक रहेको उल्लेख गर्दै उनले दुई देशका राजनीतिक नेतृत्वबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता जनाए।
रास्वपा प्रतिनिधिमण्डलको भ्रमणलाई अवसरका रूपमा लिँदै स्थानीय तहमा पार्टीगत तथा सरकारी सम्बन्ध थप बलियो बनाउन र नयाँ क्षेत्रमा रणनीतिक सहकार्य तथा साझेदारी विस्तार गर्न सकिने उनको भनाइ थियो। वाङले सिचुवान प्रान्तीय पार्टी समिति र सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराएका थिए।
उनले नेपाल र चीन शताब्दीयौँदेखि मैत्रीपूर्ण सम्बन्ध कायम राखेका असल छिमेकी र साझेदार रहेको उल्लेख गरे। गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रमा आएको गेग्रानसहितको बाढीले दुवै देशमा जनधनको क्षति पुर्याएको स्मरण गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको पनि स्मरण गराए।
दुवै देशले मिलेर कठिनाइको सामना गरेको घटनालाई उनले परम्परागत मित्रताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे।
रास्वपा महामन्त्री आचार्यले भोटेकोशी विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्पछि चीनले नेपालका प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएको स्मरण गरे। उनले चीनको सहयोग र ऐक्यबद्धता नेपालले सधैँ सम्झिरहने बताए।

पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव
महामन्त्री आचार्य नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले नेपाल र सिचुवानबीच सहकार्य विस्तारका लागि पाँच प्राथमिकता अघि सारेको छ।
तर यो प्रतिनिधिमण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा कार्यान्वयनमा गइसकेको बीआरआई परियोजनाबारे मौनता साँधेको छ। यो टोलीलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले पनि बीआरआईबारे अहिले केही नबोल्न निर्देशन दिएका थिए ।
उनीहरूको त्यही निर्देशनअनुसार नेपाली टोलीले चिनियाँ नेतासँगको भेटमा बीआरआईबारे मौनता साँध्दै सहकार्यका पाँच प्राथमिकता प्रस्ताव गरेको हो ।
पहिलो, सीमापार यातायात पूर्वाधार र व्यापार सहजीकरण हो। सीमा जोडिए पनि सुरक्षित र भरपर्दो सीमापार यातायातको समस्या रहेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणाली विकासमा सहकार्य प्रस्ताव गरेको छ। हिमालपारिको व्यापार र आवागमनलाई सुरक्षित तथा भरपर्दो बनाउन दुवै पक्षबीच सहकार्य आवश्यक रहेको नेपाली पक्षको भनाइ थियो।
दोस्रो, पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उत्थानशीलता हो। नेपाल र सिचुवानको पर्वतीय वातावरण तथा विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच सहकार्य गर्न सकिने प्रस्ताव गरिएको छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक र विपद् पूर्वतयारीमा ज्ञान तथा सूचना आदानप्रदानले जनधनको क्षति घटाउन सक्ने प्रतिनिधिमण्डलले जनाएको छ।
तेस्रो, स्वच्छ ऊर्जा र हरित उद्योग हो। नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्न प्रस्ताव गरिएको छ। जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको छ।
चौथो, हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धन हो। चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ। यसबाट पर्यटन, व्यावसायिक आवागमन र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने प्रतिनिधिमण्डलको भनाइ थियो।
त्यस्तै, नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाको चीनतर्फ निर्यात बढाउन प्रशोधन, भण्डारण र गुणस्तर मापदण्डमा सहकार्य तथा बजार पहुँचका लागि प्राविधिक र व्यावसायिक सहयोगको प्रस्ताव गरिएको छ।
पाँचौँ, युवा तथा डिजिटल नवप्रवर्तन हो। नेपालका प्रविधिमा रुचि राख्ने युवा र स्वच्छ विद्युत्लाई सिचुवानको अनुसन्धान क्षमतासँग जोडेर कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्न सकिने प्रस्ताव नेपाली पक्षले राखेको छ। संयुक्त अनुसन्धान र आदानप्रदानबाट युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिने प्रतिनिधिमण्डलको भनाइ थियो।
राजनीतिक विश्वास र विकास साझेदारीमा जोड
भेटका क्रममा आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिए। चीनको पश्चिमी क्षेत्रको महत्त्वपूर्ण प्रान्त सिचुवान नेपालका लागि विश्वसनीय र दीर्घकालीन साझेदार हुन सक्ने उल्लेख गर्दै उनले पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहेको बताए।
प्रतिनिधिमण्डलले भ्रमणअघि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेको जानकारी दिँदै दल र सरकार दुवै तहमा चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्धता रहेको बताएको थियो।
राजनीतिले विकास र साझा समुन्नतिको लक्ष्य प्राप्तिमा सहजीकरण गर्नुपर्नेमा जोड दिँदै आचार्यले फरक राजनीतिक प्रणाली, दर्शन र कार्यशैली भएका दलको साझा उद्देश्य नागरिकको विश्वासको कदर गर्दै उनीहरूको हित र समृद्धिका लागि काम गर्नु रहेको बताए।
रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन संगठनात्मक तथा शासनसम्बन्धी अनुभवलाई खुला र जिज्ञासु दृष्टिले अध्ययन तथा अवलोकन गर्न चाहेको पनि प्रतिनिधिमण्डलले जनाएको छ।
नेपालमा विगतका अस्थिर गठबन्धनका कारण नागरिकको हित र समृद्धिका उद्देश्यले अघि सारिएका कतिपय आयोजना कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले रास्वपाले स्पष्ट राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमता भएको स्थिर सत्तारूढ शक्तिको प्रतिनिधित्व गरेको बताएको थियो। विकास आयोजनालाई तीव्रता दिन राजनीतिक अवरोध नरहेको पनि नेपाली पक्षको भनाइ थियो।



प्रतिक्रिया