धरान- बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामो समयदेखि फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए।
गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत लामिछाने पक्राउ परेको जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताका लागि न्यायको सुरुवात भएको बताएका छन्।
उनले बराह सहकारी प्रकरणमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको दाबी गरेका छन्।
बराह सहकारीका मुख्य योजनाकारलाई पक्राउ गर्न गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि खोजी तीव्र पारिएको दाबी उनले गरेका छन्। उनले भनेका छन्, ‘अन्ततः ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौँ।’
उनले आफूले ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताको पीडा सुनेको र त्यसले आफूलाई निरन्तर झकझकाइरहेको पनि उल्लेख गरेका छन्।
अभियन्ताका रूपमा रहँदा वा जेन-जी आन्दोलनपछिका प्रयासमा तत्काल केही गर्न नसके पनि गृहमन्त्री बनेपछि बचतकर्ताको रकम हिनामिना गर्नेहरूलाई कानुनी दायरामा ल्याउन खोजी तीव्र पारिएको उनको भनाइ छ।
४ हजार ७७२ भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको आरोप, मुख्य अभियुक्तमाथि मात्रै २ अर्ब ७१ करोड बिगो दाबी
बराह सहकारीका सञ्चालकहरूले देशभरका ४ हजार ७७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
बचत गरेको रकम फिर्ता नपाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले सहकारीका सञ्चालक तथा व्यवस्थापकविरुद्ध अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका लामिछानेमाथि मात्रै २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोग छ। सहकारीका अन्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायत भने अझै फरार छन्।
सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि लामो समयदेखि आन्दोलन र कानुनी लडाइँमा रहेका बचतकर्ताले सञ्चालकहरूलाई पक्राउ गरी रकम फिर्ता गराउन माग गर्दै आएका थिए। मुख्य अभियुक्त पक्राउ परे पनि बचतकर्ताको रकम फिर्ता हुने प्रक्रिया र अन्य फरार सञ्चालकको पक्राउ अझै बाँकी छ।
गृहमन्त्री गुरुङले बाँकी फरार अभियुक्तको खोजी तथा कारबाही प्रक्रियालाई पनि तीव्रता दिइने बताएका छन्।



प्रतिक्रिया