बाढी प्रभावित नेपाल-चीन सीमामा ठडियो नेपाली झन्डा

बाढी प्रभावित नेपाल-चीन सीमामा ठडियो नेपाली झन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको झन्डा राखेको हो।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको ठुलो भूभाग बगाएपछि सीमाक्षेत्रमा नेपालको पहिचान देखिने कुनै संकेतसमेत थिएन । यसैलाई मध्यनजर गर्दै नेपाली सुरक्षा टोलीले सीमामा झन्डा राखेको हो ।

बाढीले रसुवागढी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ ।बाढीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण पुग्न कठिन बनेको उक्त स्थानमा बीओपी टिमुरेको टोली ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो हुँदै अगाडि बढेको थियो।

साथै, नेपाली सेनाको टोली हेलिकप्टरमार्फत सोही स्थानमा पुगेपछि दुवै निकायले संयुक्त रूपमा नेपालतर्फ राष्ट्रिय झन्डा स्थापना गरेका हुन्।

बाढीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्‍याएपछि सीमाको सुरक्षा तथा आवागमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित गरेको हो ।