नेपालमा कोरोनाबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक बढी


काठमाण्डु – नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वासलगायत दीर्घ रोगबाट महिला-पुरुष नै पीडित छन्। दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्‍याउने जोखिम हुने विज्ञको भनाइ छ।

‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो। कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement