भोटेकोशी बाढी : भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले खोज तथा उद्धारमा सघाउने

भोटेकोशी बाढी : भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले खोज तथा उद्धारमा सघाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ ।

यसअघि सरकारले नेपाली उद्धार टोली खोज तथा उद्धार अभियान सञ्चालन गर्न सक्षम रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग नलिने बताएको थियो ।

तर सुरुङभित्र उद्धार, डीएनए परीक्षण तथा फरेन्सिक जाँचका लागि विदेशी विशेषज्ञको सरकारले सीमित सहयोग लिने निर्णय गरेको छ।

विपद्मा आफ्ना नागरिकसमेत बेपत्ता भएपछि सम्बन्धित देशहरूले आग्रह गरेपछि सरकारले सीमित क्षेत्रमा विदेशी विज्ञ तथा प्राविधिक टोलीको सहयोग लिने निर्णय गरेको हो ।

बुधबार सरकारले नेपाली उद्धारकर्मी नै खोज तथा उद्धार कार्य सञ्चालन गर्न सक्षम रहेको भन्दै अन्य देशका उद्धारकर्मीलाई अनुमति नदिने जनाएको थियो । तर सुरुङभित्र उद्धार, डीएनए परीक्षण र फरेन्सिक परीक्षणका लागि सीमित विदेशी विशेषज्ञको सहयोग लिने सरकारले जनाएको छ ।

एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय समुदायबाट कम्तीमा खोज तथा उद्धार टोली र केही विशेषज्ञलाई अनुमति दिन आग्रह आएपछि निश्चित क्षेत्रमा सीमित संख्यामा विशेषज्ञलाई अनुमति दिन सरकार तयार भएको हो ।

भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा आएको विनाशकारी बाढीबाट ६ भन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ देशका ५१७ विदेशी नागरिकसहित ९७७ जना अझै बेपत्ता छन् । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार बेपत्ता हुनेमा भारतीय नागरिक सबैभन्दा धेरै १७८ जना छन् । त्यसपछि ६५ अमेरिकी, ५३ युक्रेनी, ३५ अस्ट्रेलियाली र ३३ बेलायती नागरिकलगायत छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले गरेको मूल्याङ्कनका आधारमा सरकारले अन्तरमन्त्रालय समन्वय समितिमार्फत भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियालाई सुरुङ उद्धार तथा डीएनए र फरेन्सिक परीक्षणमा अनुभवी विशेषज्ञ तथा प्राविधिक टोली पठाउन अनुमति दिएको छ ।

यी चार देशका विशेषज्ञ टोलीलाई रसुवा र नुवाकोट जिल्लाका जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसको उद्धारका लागि परिचालन गर्न अनुमति दिइनेछ ।

नेपालका प्रयोगशालामा डीएनए परीक्षण गर्ने क्षमता सीमित रहेकाले मृतकको पहिचानका लागि सम्बन्धित देशका छुट्टाछुट्टै विशेषज्ञ टोलीले सहयोग गर्नेछन् ।

नेपाललाई राहत सहयोग घोषणा गरेका अन्य केही देशले पनि आफ्ना विशेषज्ञ टोली पठाउने इच्छा व्यक्त गरेका छन् । तर सरकारले उनीहरूको अनुरोध भने स्वीकार गरेको छैन । नेपालस्थित कम्तीमा दुई देशका दूतावासका अधिकारीले आफ्ना दर्जनौँ नागरिक बेपत्ता रहेकाले खोजीमा सहयोग गर्न टोली पठाउन अनुमति मागेका छन् ।

केही देशले नेपाललाई खोज तथा उद्धार कार्यमा सहयोग गर्ने सार्वजनिक घोषणा पनि गरेका छन् । भारतले सुरुङ उद्धार टोली, मेडिकल टोली तथा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का टोली पठाउने प्रस्ताव गरेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

भारतले नेपालमा राहत सामग्रीको चौथो खेप पठाउँदा सुरुङ उद्धार कार्यका लागि ११ सदस्यीय चिकित्सक, प्यारामेडिक्स र उद्धारकर्मीको टोलीसमेत पठाएको छ ।

दक्षिण कोरियाले पनि थप सहयोगको सार्वजनिक प्रस्ताव गरेको छ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग कुराकानी गर्दै नेपालमा रहेका दक्षिण कोरियाली नागरिकको सुरक्षाबारे चिन्ता व्यक्त गरेका थिए । नेपालमा रहेका नौ दक्षिण कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।

दक्षिण कोरियाली मन्त्री चोले विपद् प्रभावित क्षेत्रमा पठाइएको ‘प्रम्प्ट रेस्पोन्स टिम’लाई खोज तथा उद्धार कार्य सहज रूपमा सञ्चालन गर्न नेपाल सरकारको सहयोग मागेका थिए ।

नेपाली अधिकारीहरूले आवश्यकताका आधारमा मात्र विदेशी सहयोग स्वीकार गरिने बताएका छन् ।