काठमाण्डु – नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन: परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल–भारत नीति विमर्शअन्तर्गत आईतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं सरोकारवालाले यस विषयमा जोड दिएका हुन् ।
इन्डिया फाउण्डेशनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धको पुन:परिभाषा जरुरी रहेको बताए । उनले नयाँ पुस्तामा देखिएको नयाँ सोच र आकांक्षाले दुवै देशका युवालाई प्रभावित बनाइरहेको सन्दर्भमा नीतिहरूमा पनि आवश्यकता अनुसारको परिवर्तनमा जोड दिए ।
नेपालका शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणका क्रममा संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवाहरूलाई स्वसंस्कृतिका बारेमा जानकार बनाउनुपर्ने बताए । युवाहरूलाई सिर्जनशील र दक्ष बनाउन नेपाल तथा भारतले मिलेर कार्य गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्रा. श्रीनिवास बरखेडीले नेपाल र भारतबाट सुरु भई अहिले पनि अभ्यास एवं साधनामा रहेको संस्कृतिले समग्र एसियालाई प्रकाशित गरिरहेकाले यसको विशुद्धता कायम राख्नुपर्नेमा जोड दिए ।
भारतकी प्रा. माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकुद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा उनले संयुक्त शैक्षिक कार्यक्रमहरू बनाएर जानुपर्ने बताइन् ।
काठमाण्डु विश्वविद्यालयका लागि आईसीसीआर प्रमुख समेत रहेकी प्रा. सुखिजाले शिक्षा र खेलकुदका क्षेत्रमा भइरहेका सहकार्यहरूले सम्बन्धलाई अझ प्रगाढ बनाएको बताइन् । विश्वमा आएको प्रविधिको तीव्र विकासले नेपाल र भारतबीचको नयाँ पुस्तामा सम्बन्धलाई सुदृढीकरणका लागि नयाँ नीतिहरू आवश्यक देखिएको उनले बताइन् । उनले भनिन्, ‘परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरू बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।’
भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एशियन स्टडिजका निर्देशक प्रा. सरुपप्रसाद घोषले दुवै देशले युवाहरूमा रोजगारी र दक्षतामा ध्यान दिनुपर्ने बताए । भारतको वर्तमान सरकार दक्षता अभिवृद्धिमा केन्दित भएको तर ब्रेन ड्रेन र बसाइँसराइँको चुनौती बढेको उनले सुनाए । सामाजिक क्षेत्रमा आएका समस्याले युवा पुस्तामा आएका नकारात्मक असर अन्तका लागि नीति बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
भारतको विद्यान गँगा बेसिन फाउण्डेशन अफ रिसर्च एण्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतसँग ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या रहेकोले त्यसबाट प्रचुर लाभ लिन सक्नुपर्ने बताए । युवाहरूमा आएको ब्रेन ड्रेनको चुनौती दुवै देशको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने उनले भनाइ थियो ।
नेपालमा स्थिर सरकार भएकाले भारतले मिलेर काम गर्ने सहज वातावरण विकास भएको उनले बताए । दुवै देशले मिलेर काम गर्न सकिने र भारत त्यसका लागि तत्पर रहेको उनको भनाइ थियो । नेपालको अर्ग्यानिक उत्पादनले भारतमा बजार पाउनसक्ने र युवालाई त्यस दिशातर्फ लगाउन उनको सुझाव थियो ।



प्रतिक्रिया