नेपाल र भारतबीच संयुक्त बैठक सम्पन्न, भुकम्पले भत्किएका ४६ हजार घर निर्माण


काठमाण्डु – नेपाल र भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को बैठक सम्पन्न भएको छ । सोमबार काठमाण्डुमा सम्पन्न बैठकमा नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी थिए ।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो ।

बैठकमा नेपाल–भारत द्विपक्षीय सहयोग अन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, पेट्रोलियम पदार्थ पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबारे छलफल भएको छ ।

‘पुनर्निर्माण, सिंचाई, विद्युत र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत चेक पोस्ट, रामायण सर्किट, एचआईसीडीपीहरू, महाकाली नदीमा मोटेबल पुल, कृषि र सांस्कृतिक सम्पदालगायतलगायतका विषयमा छलफल भयो’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरेअनुसार ४६ हजार ३०१ घर निर्माण भएको भारतीय राजदूतले जानकारी दिए । त्यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो ।

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । यो संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोभिड–१९ विरुद्ध लड्न भारतले उपलब्ध गराएको औषधि तथा स्वास्थ्य उपकरण सहायताप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement