नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्रीद्वयको प्रतिबद्धता


नयाँदिल्ली- नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा आज यहाँ सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ ।

दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झाङ्गिएको साझेदारीको स्वागत गरे । साझा ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको सम्पर्कमा आधारित मैत्रीपूर्ण एवं सन्निकटको नेपाल–भारत सम्बन्धको सुदृढ आधारशिलाको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले नियमितरुपमा उच्चस्तरीय राजनीतिक भेटघाट र विचार आदानप्रदानबाट नै द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेमा मतैक्यता प्रकट गरे ।

नेपाल सरकारले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन उच्च महत्व दिएको बताउँदै द्विपक्षीय सम्बन्धलाई भारतको विकास र समृद्धिबाट नेपालको आर्थिक रुपान्तरण र उन्नयनमा विस्तार गर्न चाहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको वक्तव्यमा जनाइएको छ । बाह्रबुँदे संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीति कै रुपमा रहेको बताए । प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सरहाना गरे।

भारत भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमण्डलप्रति देखाइएको हार्दिक आतिथेयप्रति प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीमा आभार व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रण गरे ।प्रधानमन्त्री मोदीले भ्रमणको आमन्त्रणलाई स्वीकार गरे। प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिमरुप दिइनेछ ।

विशेष प्रतिनिधि रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस
Advertisement