काठमाण्डु – नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल-भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको परराष्ट्रका अधिकारीले जानकारी दिए ।
‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र भारततर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । लामो समयदेखि संवादहीनताको अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको दुई दिनपछि दुई देशबीचको संयुक्त निगरानी संयन्त्र बैठक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भएको सीमा विवादपछि दुई देशबीच संवादहीनता रहेकामा पछिल्ला दुई घटनाले केही आशा जगाएको पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको बुझाइ छ । पछिल्ला दुई वटा संवाद हुनु भनेको संवादहीनता अन्त्य र संवाद गर्ने बाटो खुला भएको हो । सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय संवाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिज्मको आठौं बैठक हुनुलाई महŒवपूर्ण मानिएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा तराईका सडक, सीमापार रेल, अरुण–३ हाइड्रोपावर परियोजना, पेट्रोलियन पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण, सिञ्चाइ, प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा पुल, कृषि, सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा छलफल भएको छ । दुवै पक्षले कार्यान्वयन गर्दा आइपर्ने आवश्यक सहयोगलाई समयमै हल गर्ने सम्बन्धमा सहमति जनाएका थिए ।
यता भारतीय दूतावासले बैठकपछि विज्ञप्ति निकाल्दै सन् २०१९ जुलाई ८ तारेखमा भएको सातौं बैठकदेखि द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाको विस्तृत समीक्षा गरेको जनाएको छ । दुवै पक्षले संवाद गरेर परियोजनाको काम अगाडि बढाउने विषयमा छलफल भएको विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाएको छ । भारत सरकारले नेपालका भूकम्प प्रभावितलाई ५० हजार घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो । दूतावासले मोतिहारी–अमलेखगन्ज सीमापार पेट्रोलियम पाइपलाइनको सञ्चालन, विराटनगरमा एकीकृत जाँच चौकी तथा कोभिड–१९ सम्बन्धी विषयमा पनि नेपाललाई सहयोग गरेको जनाएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया