नेपाल-भारत सीमावर्ती समुदाय स्तरमै कोरोनाको सङ्क्रमण दर बढ्यो


विराटनगर – लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताउनुभयो ।

अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् ।
सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएको कारण सर्वसाधारणलगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताउनुभयो । यसरी सीमा क्षेत्रबाट आफन्त भेटघाट गर्न आउजाउ गर्ने र चोरीपैठारी गर्नेहरुबाट समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कुराबाट स्थानीयहरु त्रसित छन् ।

भारतमा आफन्त रहेका नेपाली तथा नेपालमा आफन्त रहेका भारतीय नागरिकहरु स्थानीय र सुरक्षाकर्मीहरुको आँखा छलेर वारिपारि गरिरहेका छन्, यसले स्थानीय क्षेत्रमा जोखिम बढाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं ८ का मो. यासिनले बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement