नेपालमा लगानी भित्राउन मस्कटस्थित नेपाली राजदूतवास सक्रिय 


मस्कट– नेपालमा लगानी भित्राउन मस्कटस्थित नेपाली राजदूतवासले पहल थालेको छ । ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकालले लगानी अनुकूल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा सुधार ल्याएको बताएकी छन् । उनले नेपालमा लगानीको लागी उपयुक्त वातावरण वनेको भन्दै लगानीका क्षेत्रहरुबारे प्रकाश पारेकी थिईन् । 

नेपाली दुतावास ओमानले ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको आयोजना गर्दै कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रबारे जानकारी गराएको छ । 

कार्यक्रममा विभिन्न देशका राजदुत, मिसन प्रमुख, विभिन्न दुतावासमा कार्यरत आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण(आइटिएचआरएए)ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको सहभागिता रहेको दूतावासले जनाएको छ । 

कार्यक्रममा राजदुत ढकालले सम्बृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको आवश्यकता रहेको भन्दै नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न उनले आग्रह समेत गरिन् । 

  

उक्त कार्यक्रममा उपस्थित विभिन्न देशका राजदुतज्यू र मिसन प्रमुखहरुले नेपालमा लगानीको लागी आफुहरुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । 

‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रमको प्रमुख अतिथी ओमानको पराराष्ट्र मन्त्रालयको दक्षिण एसिया विभागका प्रमुख अहमद बिन हसन अलदिब, पराराष्ट्र मन्त्रालयमै कार्यरत हिलाल मारोन अल मामारी, पराराष्ट्र मन्त्रालयको अर्थतन्त्र क्षेत्रका प्रमुख डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनीलगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement