एकै थलोमा नेपाली र कोरियालीका चित्र प्रदर्शनीमा


काठमाडौं- नेपाल र गणतन्त्र कोरियाका करिब ३५ कलाकारका कलाकृति नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ कलाकारका कला प्रदर्शनीमा छन् । शनिबारदेखि शुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गर्दै नेपालको परिवर्तनलाई संस्थागत गर्न दक्षिण कोरियाले सघाओस् भन्ने अपेक्षा गरे ।

कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलाकारले समसामयिक सन्दर्भलाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्न सफल भएको बताए । कोरियाली प्रा इम गुन उले काठमाण्डुमा रहँदा कला प्रदर्शनी र गोष्ठी पनि आयोजना गरिने जानकारी दिए ।

प्रदर्शनीमा शशी शाह, वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, मुकेश श्रेष्ठ, वरुण पोखरेल, प्रवीण श्रेष्ठ, प्रदीप अधिकारी, भूफान लिम्बू, विक्कुकुमार थापा, मन गुरुङ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ, उमेश साहलगायतका चित्र राखिएका छन् । त्यसैगरी कोरियाबाट ली जे साङ, किम उन क्यू, ली क्वान उ, छो सङ यङ, ए रियोङलगायतका चित्र राखिएका छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement