बोलपत्र गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिन माग


काठमाडौं – निर्माण व्यवसायीले कुनै पनि आयोजनामा बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिइनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सार्वजनिक खरीद विधेयकमा संशोधन गरेर स्वदेशी कम्पनीलाई प्राथकिमता दिनुपर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष रवि सिंहले स्वदेशी कम्पनीलाई प्राथमिकता दिँदै कम कबोल गर्ने विदेशी कम्पनीभन्दा बढी कबोल गरे पनि नेपाली कम्पनीलाई जिम्मेवारी दिनुपर्ने बताए ।

विधेयकमा विदेशी कम्पनीभन्दा बोल अङ्क रकमको पाँच प्रतिशत कम कबोल गर्ने नेपाली कम्पनीलाई जिम्मेवारी दिइने भन्ने व्यवस्था रहेको छ ।

सो व्यवस्था संशोधन गरी ७ दशमलव ५ प्रतिशतसम्म बढी कबोल गर्ने नेपाली कम्पनीलाई प्राथमिकता दिइने व्यवस्था हुनुपर्ने उनले बताए ।

स्वदेशी कम्पनी र स्वदेशीसँग जेभी भएका विदेशी कम्पनीको प्रस्तावलाई स्वीकृत गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

बैंकहरु जसरी नै निर्माण कम्पनी समायोजन हुनसक्ने व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उनले भने, ‘त्यसले गर्दा व्यवसायीको पूँजी र अनुभव दुवै बढ्नेछ ।’

महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले एउटा कम्पनीसँग पुल र अर्कोसँग सडक निर्माणको अनुभव भए पनि कम्पनीहरु आपसमा समायोजन हुँदा उनीहरुसँग दुवैको अनुभव हुने बताए ।

महासङ्घका महासचिव रोशन दाहालले रु दुई करोडसम्मको निर्माणकार्यमा कुनै पनि योग्यता नराखी जुनसुकै व्यवसायी भाग लिन पाउने व्यवस्था भएकामा त्यसलाई बढाएर रु पाँच करोडसम्मको निर्माणकार्य बनाउनुपर्ने बताए । महासङ्घका सल्लाहकार रमेश शर्माले विभिन्न जिल्लामा व्यवसायीलाई धम्की दिने र आक्रमणका घटना भइरहेकाले व्यवसायी, कामदार र निर्माण सामग्रीको सुरक्षाप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement