नेपालसँग सहकार्य गर्न उत्सुक छु : इमरान खान


काठमाण्डु – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्दन गर्न आफू तत्पर रहेको बताएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्दनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता रहेको बताएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिको शुभकामना समेत व्यक्त गरे ।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताए ।

उनले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे । कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement