प्रदेश २ मा अब पाँच प्रकृतिका प्रहरी, पहिलो चरणमा ९ सय प्रहरी भर्ना गरिने


धनुषा– प्रदेश नम्बर २ मा पाँच प्रकृतिका प्रहरी हुने भएका छन्।  प्रदेशसभाले स्वीकृत गरेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयकमा
जनपद प्रहरी, प्राविधिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी र ट्राफिक प्रहरी समूह रहने उल्लेख छ।

प्रदेश प्रहरीको प्रमुख प्रथम श्रेणीका प्रहरी महानिरीक्षक रहनेछन्। त्यही श्रेणीका वरिष्ठ प्रहरी उपरीक्षकलाई दोस्रो तहको प्रमुख तोकिएको छ । द्वितीय श्रेणीका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक र तृतीय श्रेणी प्रहरी निरीक्षक रहने व्यवस्था प्रदेश प्रहरी ऐनमा गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभाको बैठकमा पेश गरेको विधेयक स्वीकृत भएको हो।

देशको सातवटै प्रदेशमध्ये प्रदेश २ ले प्रहरी सेवा ऐनसम्बन्धी विधेयक पहिलोपटक ल्याएको हो। प्रदेशसभाबाट यो विधेयक पारित भएपछि प्रदेश नम्बर २ को सरकारले पहिलो चरणमा ९ सय जना प्रहरी भर्ना गर्न पाउनेछ।

विधेयकमा प्रदेश प्रहरीको संगठन संरचना र प्रहरीको संख्या संघीय सरकारको सहमतिमा प्रदेश सरकारले तोक्ने उल्लेख छ। प्रदेश प्रहरीको कमाण्ड आन्तरिक मामिला मन्त्रालयले सम्हाल्ने र प्रदेश प्रहरी प्रमुख रहने व्यवस्था विधेयकमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement