नेपाल प्रहरीमा एआईजीको दरबन्दी थप्ने मन्त्रिपरिषद बैठकको निर्णय


काठमाण्डु– सरकारले नेपाल प्रहरीमा एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । गृहमन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको स्रोतको दावी छ ।

यसअघि अहिलेकै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी घटाउने निर्णय गरेको थियो । हाल नेपाल प्रहरीमा ४ जना एआईजीको दरबन्दी रहेको छ । एक एआईजीको दरबन्दी थपसंगै नेपाल प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ ।

नेपाल प्रहरीमा मानवश्रोत एवंम प्रशासन विभाग, कार्य एवंम् अवराध अनुसन्धान विभाग, महानगरिय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी चार वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ । त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

सरकारले यसअघि हालका एआईजी विश्व पोखरेललाई पनि एआईजीमा बढुवा गर्न दरबन्दी थप गर्ने निर्णय गरेको थियो । अहिले उनकै ब्याचका डिआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सरकारले एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको स्रोतको दावी छ । थापा यसअघि सिआईबीको प्रमुख थिए । उनको सोमबार मात्र नेपाल प्रहरीको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको थियो ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापापछि एआईजी पोखरेल प्रहरी महानिरीक्षक बन्ने पक्कापक्कीजस्तै थियो । तर,थापालाई एआईजीमा बढुवा गर्ने तयारीसंगै उनी पनि आईजिपीको प्रतिस्पर्धामा सामेल हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement