प्रदेश २ का प्रहरी प्रमुख विवादमा : लिखित स्पष्टिकरण सोध्ने प्रहरी मुख्यालयको तयारी


काठमाडौं – २ नम्बर प्रदेश प्रहरी प्रमुख (डिआईजी) धीरजप्रताप सिंह डिआईजीमा बढुवा भएको एक महिना नपुग्दै विवादमा तानिएका छन् । सिंहको निर्देशनमा प्रहरीले रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा मध्यराति छापा मारेको थियो ।

स्थानीय प्रहरी र माथिल्लो निकायलाई समेत जानकारी नदिएर प्रहरीले गोप्य अपरेशनका नाममा मध्यराति छापा मारेको र उक्त अपरेशन विफल भएपछि गृहमन्त्रालयले यसमा चांसो राखेको हो । रौतहटको राजपुरस्थित उनको घरमा निलम्बित सांसद आलमका भाइ महम महताब आलम ईद उलफित्र पर्वको अवसरमा लुकिछिपी घरमा आएको सुचनाको आधारमा प्रहरीले छापा मारेपनि उनि फेला भने परेनन् ।

सिंहकै निर्देशनमा व्यक्ति हत्या आरोप लागेका रौतहट फरदहवा (राजपुर)का आलमलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सिमरा (बारा) का डीएसपी गोविन्द पुरीसहितको सादा पोशाकमा टोली खटाइएको थियो । आलम २०६४ चैत २७ गते राति राजपुरकै स्थानीयलाई इटाभट्टामा जलाएर मारेको आरोपमा फरार व्यक्ति हुन् । उनका दाजु मोहम्मद अफताव आलम यही कसुरमा अहिले पुर्पक्षका लागि जेलमा छन् ।

उनको घरमा मध्यराति छापा मारेपछि स्थानियहरुले डांका आयो भन्दै हो हल्ला सुरु गरेका थिए । प्रहरीले भीड हटाउन २० राउण्ड हवाई फायर समेत गरेको थियो । त्यसक्रममा स्थानीय र प्रहरीबीच झड्प समेत भएको थियो भने डिएसपी पुरीमाथी हातपात समेत भएको थियो । प्रहरीले यस घटनालाई गोप्य राखेको छ । तर, राजपुर नगरपालिकाका मेयर सेख सकिलले प्रहरीले डकैती शैलीमा प्रहरीले मध्यरातमा अनावश्यक दुख दिएको बताए । दुई दिनपछि आउन लागेको ईद उलफित्रलाई प्रभावित बनाउ प्रहरीले षडयन्त्र गरेको उनको आरोप छ ।

डिआईजी सिंहमाथी जिल्ला प्रहरी, घटनास्थल नजिकै रहेको युनिट, संघीय प्रहरी ईकाई कार्यालय समेतलाई मौखिक जानकारी समेत नदिई छापा मारेको आरोप लागेको छ । घटनाको वारेमा विवाद भएपछि गृहसचिव महेश्वर न्यौपानेले समेत चांसो व्यक्त गरेका छन् ।

आलम पक्राउ गर्न जानेबारे जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्का र रौतहटकै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई समेत जानकारी थिएन । घटनास्थल नजिकै प्रहरी चौकीलाई पनि यसबारे जानकारी नभएपछि समस्या आएको हो । घटनापछि मात्र स्थानिय प्रहरीलाई खवर भएको थियो ।

गृहसचिव न्यौपानेले घटनाबारे शुक्रबार रौतहटका प्रजिअ घिमिरेसंग बुझेका थिए । उनले यस प्रकरणमा आफु अनभिज्ञ भएको जानकारी गराएपछि गृहसचिव न्यौपानेले प्रदेश प्रहरी प्रमुखसंग स्पष्टीकरण सोध्न निर्देशन दिएको गृहस्रोतको भनाई छ ।

गृहसचिव न्यौपानेको निर्देशनपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले क्षेत्राधिकार बाहिरका प्रहरी अधिकृत खटाएको भन्दै २ नम्बर प्रदेश प्रहरी प्रमुख (डिआईजी) सिंहसंग मौखिक स्पष्टिकरण सोधेका छन् । प्रहरी मुख्यालयले उनीसंग आईतवार लिखित स्पष्टिकरण लिने तयारी गरेको छ ।
प्रहरी प्रवक्ता डिआईजी निरज शाहीले स्पष्टिकरण सोध्नेबारे आफु जानकार नभएको बताए । ‘मलाई त्यो बारेमा जानकारी भएन्, स्पष्टिकरण सोध्ने कुरा त्यस्तो केही छैन् ।’ शाहीले काठमाडौंपाटीसंग भने ।

डिआइजी सिंहले अपराध अनुसन्धानको सिलसिलामा गोपनीयता कायम राख्न सम्बन्धित जिल्ला वा नजिकको प्रहरीलाई नभई अर्कै जिल्लाबाट अधिकृतको नेतृत्वमा टोली खटाइएको स्विकार गरे । उनले प्रहरी महानिरीक्षक ज्ञवालीले घटनाबारे जानकारी मागेपनि स्पष्टिकरण भने नसोधेको बताए ।

सिंहकाअनुसार अदालतले नै कसुरदार देखाएर अनुसन्धानको दायरमा ल्याउन किटान गरिएको व्यक्ती घरमा आएको सुचनाका आधारमा सादा पोसाकमा अर्कै जिल्लाबाट टोली खटाइएको हो । उनले अपराधी पक्राउ गर्न प्रशासनलाई पूर्व जानकारी दिइरहनुपर्ने बाध्यता प्रहरीलाई नभएको दावी गरे ।

 

डिआईजी सिंहले अपराधी पक्राउ गर्दा प्रशासनलाई पूर्व जानकारी दिइरहनुपर्ने बाध्यता प्रहरीलाई नभएको दावी गरेपनि गोप्य अप्रेशनको हकमा पनि प्रहरी प्रधान कार्यालयसँग समन्वय हुने गरेको थियो। तर यो अप्रेशनमा प्रदेश नम्बर २ का प्रमुख सिंहले प्रहरी महानिरिक्षकलाई समेत गुमराहमा राखेपछि केन्द्रले उनलाई प्रष्टीकरण सोधेको छ। उनले केन्द्रलाई जानकारी नगराएको, आएको सूचनाको पुष्टिको प्रयास नगरेको र जिल्लातहको नेतृत्वतहसँग समेत समन्व नगरी असम्बन्धित प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर प्रहरी कर्मचारीको ज्यान जोखिममा पारेको भन्दै केन्द्रले सिंहसँग लिखिति स्पष्टिकरण लिने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement